न्युजिल्याण्डमा दुई दिन के गर्नेछन् नरेन्द्र मोदी ? यस्तो छ भ्रमण तालिका – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा दुई दिन के गर्नेछन् नरेन्द्र मोदी ? यस्तो छ भ्रमण तालिका

   July 4, 2026  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जुलाई १० र ११ मा न्युजिल्याण्डको ऐतिहासिक भ्रमणमा आउँदैछन्। करिब ४० वर्षपछि भारतीय प्रधानमन्त्रीले न्युजिल्याण्ड भ्रमण गर्न लागेकाले यसलाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। मोदी जुलाई १० मा अकल्याण्ड आइपुग्नेछन् भने जुलाई ११ मा आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनको सम्पूर्ण भ्रमण अकल्याण्डमै केन्द्रित हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको गभर्नमेन्ट हाउसमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग द्विपक्षीय वार्ता गर्नेछन्। दुई नेताबीच व्यापार, लगानी, क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस अवसरमा दुवै देशबीच विभिन्न सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि तय गरिएको छ।

मोदीले न्युजिल्याण्ड–भारत बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ, जहाँ दुवै देशका व्यवसायी तथा लगानीकर्ताहरू सहभागी हुनेछन्। साथै, खेलकुद साझेदारीसम्बन्धी विशेष कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता क्रिस हिप्किन्ससँग पनि उनको भेटवार्ता हुने अपेक्षा गरिएको छ।

भ्रमणको अर्को प्रमुख आकर्षण स्पार्क एरेनामा आयोजना हुने भारतीय समुदायको भव्य स्वागत कार्यक्रम हुनेछ। न्युजिल्याण्डभरबाट हजारौं भारतीय मूलका नागरिक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन्। अकल्याण्डमा न्युजिल्याण्डकै सबैभन्दा ठूलो भारतीय समुदाय बसोबास गर्ने भएकाले सबै औपचारिक कार्यक्रम त्यहीँ आयोजना गरिएको हो।

यद्यपि भ्रमणअघि न्युजिल्याण्ड सरकारभित्र भारतसँगको स्वतन्त्र व्यापार सम्झौतासँग (एफटीए) सम्बन्धित आप्रवासन नीतिलाई लिएर विवाद सार्वजनिक भएको छ। उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले भारतलाई दिइएको प्रतिबद्धता कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् भने आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्डले ती आरोप अस्वीकार गरेकी छन्। राजनीतिक विवादका बीच पनि मोदीको यो भ्रमणलाई न्युजिल्याण्ड र भारतबीचको पछिल्ला चार दशककै सबैभन्दा महत्वपूर्ण कूटनीतिक भ्रमणका रूपमा हेरिएको छ।