साउथ आइल्याण्डमा निरन्तर वर्षाको कहर, कहाँ कस्तो छ अवस्था ? – New Zealand News Nepal (NZ News Nepal)

साउथ आइल्याण्डमा निरन्तर वर्षाको कहर, कहाँ कस्तो छ अवस्था ?

   July 8, 2026  

न्युजिल्याण्डको साउथ आइल्याण्डमा लगातारको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। बाढी, डुबान, पुल बग्नु, सडक अवरुद्ध हुनु तथा विद्युत् सेवा प्रभावित भएपछि विभिन्न क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको छ। सबैभन्दा बढी प्रभाव काइकोउरा, मार्लबरो र क्यान्टरबरी क्षेत्रमा परेको छ।

सबैभन्दा गम्भीर अवस्था काइकोउरा जिल्लामा देखिएको छ, जहाँ कोव्हाइ नदीले किनारा तोडेपछि स्थानीय प्रशासनले आपतकाल घोषणा गरेको छ। नदीमा आएको बाढीका कारण केही पुल बगेका छन् भने धेरै घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा नजान र प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

मौसम निकाय मेटसर्भिसका अनुसार काइकोउरा रेन्ज, मार्लबरो र क्यान्टरबरीका केही भागमा जारी गरिएको रेड हेभी रेन वार्निङ बुधबार बिहानसम्म लागू रहेको छ। क्यान्टरबरी र मार्लबरोका अन्य क्षेत्रमा अरेन्ज रेन वार्निङ जारी गरिएको छ। यसैबीच, वाइरारापामा बिहीबारसम्म भारी वर्षाको निगरानी (हेभी रेन वाच) कायम छ भने वेलिङ्टन, कापिटी कोस्ट र तारानाकीमा तीव्र हावाहुरीको चेतावनी जारी गरिएको छ।

भारी वर्षाका कारण साउथ आइल्याण्डका धेरै मुख्य सडकहरू अझै बन्द छन्। स्टेट हाइवे–१ (SH1) वार्डदेखि नर्थ क्यान्टरबरीको वाइपारासम्म बाढीका कारण बन्द गरिएको छ। ब्लेनहिममा स्टेट हाइवे–६ (SH6) को केही भाग डुबानका कारण सञ्चालनमा छैन। त्यस्तै स्टेट हाइवे–६३ (SH63) को रेनविक–सेन्ट अर्नाउड खण्ड बाढीका कारण र कावातिरी–हावार्ड खण्ड रुख ढलेका कारण बन्द गरिएको छ।

नर्थ क्यान्टरबरीमा सयौं घरधुरी अझै विद्युत् सेवाविहीन छन्। विद्युत् वितरण कम्पनी मेनपावरका अनुसार क्रिब क्रीक पुल बाढीले क्षतिग्रस्त भएपछि विद्युत् लाइनमा समस्या आएको हो। काइकोउरा इनल्याण्ड रोड आसपासका करिब १६० घरधुरी तथा हान्मर स्प्रिङ्स र पार्नासस क्षेत्रका करिब ८० घरधुरीमा अझै विद्युत् आपूर्ति अवरुद्ध रहेको छ।

बाढीले स्थानीय किसानहरूलाई पनि ठूलो क्षति पुर्‍याएको छ। काइकोउराका दुग्ध किसान एडम म्याकम्यानवेका अनुसार बाढीले फार्मका करिब आधा बारहरू बगाएको छ भने १० देखि १५ हेक्टर जमिन ग्राभेलले ढाकिएको छ। नदीबाट बगेर आएका सयौं रुख खेतभरि फैलिएका छन्। अत्यधिक भिजेको जमिनका कारण सफाइ र पुनःनिर्माणको काम तत्काल सुरु गर्न नसकिने अवस्था रहेको उनले बताएका छन्। उनका अनुसार फार्म पूर्ण रूपमा पूर्वअवस्थामा फर्किन कम्तीमा छ महिना लाग्न सक्छ। यद्यपि हालसम्म कुनै पनि पशुचौपाया गुमाउनु नपरेकाले आफूलाई केही राहत मिलेको उनले बताएका छन्।

उता, नर्थ आइल्याण्डको वाइरारापा क्षेत्रमा पनि पानीको सतह बढेपछि स्टेट हाइवे–५३ अन्तर्गत फेदरस्टन र मार्टिनबरोबीचको वाइहेङ्गा पुल क्षेत्रमा सडक बन्द गरिएको छ।

अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न, बाढी आएको सडक वा नदी पार गर्ने प्रयास नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। मौसम सुधार नहुँदासम्म केही क्षेत्रमा थप वर्षा, बाढी र पहिरोको जोखिम कायम रहने चेतावनी पनि दिइएको छ।