साउथ आईल्याण्डमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको जोखिम मूल्याङ्कन हुँदै

302 Shares

न्युजिल्याण्डको साउथ आईल्याण्डमा बिहीबार राति शक्तिशाली ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प राति ९:१४ बजे ते आनाउ (Te Anau) बाट करिब ४० किलोमिटर उत्तर क्षेत्रमा ५३ किलोमिटर गहिराइमा गएको जिओनेट (GeoNet) ले जनाएको छ।

भूकम्प गएको केही मिनेटमै १३ हजारभन्दा बढी मानिसले कम्पन महसुस गरेको जानकारी जिओनेटमा प्राप्त भएको छ। प्रारम्भिक विवरणअनुसार यसको म्याग्निच्युड र केन्द्रबिन्दु अझै पुष्टि गर्ने क्रममा रहेको जनाइएको छ।

ओटागो, साउथल्यान्ड, क्यान्टरबरीलगायत साउथ आईल्याण्डका विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरूले भूकम्पको शक्तिशाली धक्का महसुस गरेका छन्। केही स्थानीयवासीका अनुसार कम्पन २० देखि ३० सेकेन्डसम्म महसुस भएको थियो।

ओटागो प्रायद्वीपको पोर्टोबेलोका एक स्थानीयले भूकम्पलाई “धेरै तीव्र” भएको बताएका छन् भने वानाकाका अर्का एक बासिन्दाले “एकदमै बलियो कम्पन” महसुस भएको प्रतिक्रिया दिएका छन्। ड्युनेडिनको सेन्ट किल्डा क्षेत्रमा बस्ने एक व्यक्तिले सामाजिक सञ्जालमा “सोफा एकातिरबाट अर्कोतिर हल्लिरहेको थियो” भन्दै अनुभव साझा गरेका छन्।

यसैबीच, नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (NEMA) र अर्थ साइन्सेस न्युजिल्याण्ड ले उक्त भूकम्पपछि सुनामीको सम्भावित जोखिम सम्बन्धमा मूल्याङ्कन गरिरहेका छन्।

अहिलेसम्म सुनामीको पुष्टि भइसकेको छैन। तर, नेमाले समुद्री तटीय क्षेत्रमा रहेका र एक मिनेटभन्दा बढी समयसम्म वा उभिनै गाह्रो हुने गरी बलियो कम्पन महसुस गरेका नागरिकलाई तुरुन्त सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेको छ।

नेमाले सर्वसाधारणलाई “Long or strong, get gone” अर्थात् “लामो समय वा बलियो कम्पन महसुस भए तुरुन्त तटीय क्षेत्र छोड्नुहोस्” भन्ने सन्देश दिएको छ।

अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाउँदै आधिकारिक सूचना तथा निर्देशन पालना गर्न सबैलाई अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

सबै