न्युजिल्याण्डको संसदबाट Annual Leave र Sick Leave सम्बन्धी नयाँ कानुन पारित – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको संसदबाट Annual Leave र Sick Leave सम्बन्धी नयाँ कानुन पारित

   July 30, 2026  

वेलिङ्टन। न्युजिल्याण्डको संसदले कर्मचारीहरूको वार्षिक (Annual Leave) र बिरामी बिदा (Sick Leave) सम्बन्धी नियममा व्यापक परिवर्तन गर्ने Employment Leave Bill अन्तिम चरणमा पारित गरेको छ। बुधबार तेस्रो तथा अन्तिम वाचनबाट पारित भएको यो विधेयकले हाल लागू रहेको Holidays Act लाई प्रतिस्थापन गर्नेछ।

कार्यस्थल सम्बन्ध तथा सुरक्षा मन्त्री ब्रुक भान भेल्डेनले हालको बिदा सम्बन्धी कानुन जटिल र त्रुटिपूर्ण भएकाले यसलाई सरल, स्पष्ट र व्यवहारिक बनाउन नयाँ कानुन ल्याइएको बताइन्। उनका अनुसार यसबाट रोजगारदाता र कर्मचारी दुवैले बिदाको गणना र भुक्तानीप्रति बढी विश्वास गर्न सक्नेछन्।

नयाँ कानुनका मुख्य व्यवस्था

नयाँ कानुनअनुसार कर्मचारीहरूले नोकरी सुरु गरेको पहिलो दिनदेखि नै वार्षिक बिदा, बिरामी बिदा, शोक बिदा (Bereavement Leave) तथा पारिवारिक हिंसा सम्बन्धी बिदा प्रयोग गर्न सक्नेछन्।

  • वार्षिक बिदा प्रत्येक काम गरेको मानक घण्टाको ०.०७६९ घण्टाका दरले जम्मा हुनेछ, जुन पूर्णकालीन कर्मचारीका लागि वार्षिक चार हप्ताको बिदासरह हो।
  • बिरामी बिदा प्रत्येक मानक काम घण्टाको ०.०३८५ घण्टाका दरले जम्मा हुनेछ, जसले पूर्णकालीन कर्मचारीलाई वर्षमा १० दिन बिरामी बिदा उपलब्ध गराउनेछ।

क्याजुअल र अनियमित कर्मचारीका लागि नयाँ व्यवस्था

अनियमित वा क्याजुअल रूपमा काम गर्ने कर्मचारीले अब त्यस्ता घण्टाका लागि बिदा सञ्चित गर्ने व्यवस्था हटाइनेछ। यसको सट्टा उनीहरूले काम गरेको पारिश्रमिकसँगै १२.५ प्रतिशत “Leave Compensation Payment” प्राप्त गर्नेछन्।

वार्षिक बिदाको केही हिस्सा नगदमा लिन सकिने

नयाँ कानुनले कर्मचारीलाई आफ्नो कुल वार्षिक बिदाको २५ प्रतिशतसम्म नगदमा साट्न अनुमति दिनेछ। उदाहरणका लागि, यदि कुनै कर्मचारीसँग २० दिनको वार्षिक बिदा छ भने उनले पाँच दिन बराबरको रकम नगदमा लिन सक्नेछन् भने बाँकी १५ दिनको बिदा सुरक्षित रहनेछ।

अभिभावक बिदाबाट फर्किने कर्मचारीलाई राहत

यस कानुनले हाल रहेको “Annual Leave Payment Penalty” पनि हटाउनेछ। यससँगै अभिभावक बिदा (Parental Leave) सकेर काममा फर्किने कर्मचारीले कम वार्षिक बिदा भुक्तानी पाउने समस्या अन्त्य हुने सरकारको दाबी छ।

मन्त्री भान भेल्डेनले वर्षौंदेखि कर्मचारी र व्यवसायीहरूले घण्टाका आधारमा बिदा सञ्चित हुने प्रणालीको माग गर्दै आएको उल्लेख गर्दै यस सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएको बताइन्।

२४ महिनाको संक्रमणकाल

विधेयकमा गभर्नर–जनरलको स्वीकृति प्राप्त भएपछि Ministry of Business, Innovation and Employment (MBIE) ले विस्तृत कार्यान्वयन निर्देशिका सार्वजनिक गर्नेछ। त्यसपछि व्यवसाय र पेरोल सेवा प्रदायकलाई नयाँ नियमअनुसार प्रणाली र रोजगार सम्झौता अद्यावधिक गर्न २४ महिनाको समय दिइनेछ।

लेबर पार्टीको विरोध

यद्यपि, विपक्षी लेबर पार्टीले भने नयाँ कानुनको कडा विरोध गरेको छ। लेबरकी श्रम मामिला प्रवक्ता जान टिनेट्टीले सरकार परिवर्तन भएमा यो कानुन उल्ट्याइने बताएकी छन्।

उनका अनुसार नयाँ व्यवस्थाका कारण करिब ६ लाख अंशकालीन (Part-time) कर्मचारी बिरामी हुँदा पनि काममा जानुपर्ने वा तलब गुमाउनुपर्ने अवस्थाको सामना गर्न सक्छन्। साथै अतिरिक्त घण्टा काम गर्ने कर्मचारीले त्यसअनुसार थप बिदा नपाउने भएकाले उनीहरू अन्यायमा पर्ने लेबर पार्टीको तर्क छ।