न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले ग्रीन पार्टीका सांसद लरेन्स सु–नानलाई लक्षित गर्दै संसदमा गरेको टिप्पणीप्रति चीनले औपचारिक रूपमा आपत्ति जनाएको छ।
न्युजिल्याण्डस्थित चिनियाँ दूतावासले विदेश मामिला तथा व्यापार मन्त्रालय (MFAT) समक्ष “गम्भीर कूटनीतिक विरोध” (solemn representations) दर्ता गराएको जनाएको छ। दूतावासले संसदमा एक नेताले चीनसँग सम्बन्धित नकारात्मक टिप्पणी गरेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको हो।
बुधबार संसदमा भएको बहसका क्रममा चीनमा जन्मिएका ग्रीन पार्टीका सांसद लरेन्स सु–नानलाई सम्बोधन गर्दै विन्स्टन पिटर्सले “आफ्नै देश फर्क”, “यो लोकतन्त्र हो, तिमी अभ्यस्त भएको ठाउँजस्तो होइन” जस्ता टिप्पणी गरेका थिए। उनले “यहाँ त्यसरी हुँदैन” भन्दै सु–नानमाथि कटाक्षसमेत गरेका थिए।
यसअघि न्युजिल्याण्डका लागि चिनियाँ राजदूत वाङ सियाओलोङले सामाजिक सञ्जालमार्फत न्युजिल्याण्डको आन्तरिक राजनीति चीनको चासोको विषय नभएको उल्लेख गर्दै “कहिलेकाहीँ कुनै अभिव्यक्तिले त्यो बोल्ने व्यक्तिबारे धेरै कुरा बताउँछ” भन्ने प्रतिक्रिया दिएका थिए।
त्यसपछि चीनले आफ्नो असन्तुष्टि औपचारिक रूपमा न्युजिल्याण्ड सरकारसमक्ष राख्दै दुवै देशबीचको समान र पारस्परिक हितमा आधारित सम्बन्धलाई महत्व दिन तथा द्विपक्षीय सम्बन्ध सुदृढ हुने काम गर्न आग्रह गरेको छ।
चिनियाँ दूतावासले न्युजिल्याण्डमा बसोबास गर्ने चिनियाँ समुदायको वैधानिक अधिकार र हितको सम्मान तथा संरक्षण गर्न पनि आग्रह गरेको छ। साथै, उनीहरूले न्युजिल्याण्डमा अध्ययन, बसोबास र रोजगारी गर्न खुला, समावेशी र विभेदरहित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
यता विन्स्टन पिटर्सले भने आफ्नो टिप्पणी फिर्ता लिन अस्वीकार गरेका छन्। उनका प्रवक्ताका अनुसार विदेश मन्त्रालयका अधिकारी र चिनियाँ दूतावासबीच भएको छलफलको जानकारी पिटर्सलाई दिइसकिएको छ।
प्रवक्ताले भने, “मन्त्रीले पछिल्ला केही दिनमा गरेका टिप्पणीहरू न्युजिल्याण्डको लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले गरिएको हो र उहाँ ती टिप्पणीमा अडिग हुनुहुन्छ।”
प्रवक्ताले पिटर्स लामो समयदेखि न्युजिल्याण्ड–चीन सम्बन्धसँग जोडिएको व्यक्ति रहेको र उनले हालसम्म सात पटक चीनको औपचारिक भ्रमण गरिसकेको, पछिल्लो भ्रमण सन् २०२५ को अन्त्यमा भएको पनि उल्लेख गरेका छन्।
सन् १९९४ देखि न्युजिल्याण्डमा बसोबास गर्दै आएका सांसद लरेन्स सु–नानले भने विन्स्टन पिटर्सको व्यवहारलाई “बारम्बार दोहोरिने जातीय विभेदपूर्ण व्यवहार” भएको बताएका छन्। उनले प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पिटर्सलाई जवाफदेही बनाउन आग्रह गरेका छन्।


