सुनसरीमा खाल्डोको निहुँमा सुरु भएको घटना ! अहिलेसम्म केके भयो ? – New Zealand News Nepal (NZ News Nepal)

सुनसरीमा खाल्डोको निहुँमा सुरु भएको घटना ! अहिलेसम्म केके भयो ?

   July 31, 2026  

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जसहित जिल्लामा प्रदर्शन र झडप केही मत्थर भएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिपश्चात् सुनसरीमा प्रदर्शन रोकिएको हो । तर, उक्त घटनाको बाछिटा तराई–मधेसका अरू जिल्लामा देखिन थालेको छ ।

कप्तानगन्ज घटनाको विरोधमा मोरङ, सप्तरी, सिरहा, पर्सा र धनुषामा पनि प्रदर्शन गरिएको छ । सिरहाको गोलबजारमा बिहीबार (साउन १४) तनाव भएको छ । गोलबजारमा प्रदर्शनक्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । त्यहाँ अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत बिहीबार प्रदर्शनपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

कोसी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन भएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले ‘ब्यारिकेड’ लगाएर रोकेका छन् ।

सुनसरीका १० पालिकामा ललगाइएको निषेधाज्ञा जारी नै छ । पूर्वपश्चिम राजमार्गमा यातायात आंशिक रूपमा चलाइएको छ ।

सुनसरीमा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच नेपाली सेनाको हवाई तथा स्थलगस्ती निरन्तर छ । भित्री गाउँहरूमा पनि ड्रोनबाट निगरानी भइरहेको छ । 

घटनास्थल कप्तानगन्ज भने बुधबार (साउन १३)देखि केही शान्त देखिएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काले भने, “विगत दिनहरूभन्दा बुधबार र बिहीबार कप्तानगन्ज शान्त छ । सुरक्षा निगरानी र गस्तीलाई निरन्तरता दिइएको छ ।’’

sunsari-kaptangunj5-1785408851.jpg
खाल्डोको निहुँमा सुरु भएको विवाद
सुनसरीको दक्षिणी भेगका पालिकामा हिन्दु र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । देवानगञ्जको दक्षिणतर्फका वडामा मेहता र उत्तरतर्फ मुस्लिम समुदायको बाहुल्य छ । देवानगञ्ज इनरुवाबाट करिब २२.५ किलोमिटर दक्षिणमा अवस्थित छ । विराटनगरबाट उक्त पालिका २४ किलोमिटर पश्चिममा पर्छ ।

आइतबार (साउन १०) राति प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जमा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सुरक्षाकर्मीसहित अरू २२ जना घाइते भएका थिए । गोली लागेका केही घाइतेको उपचार विराटनगरका विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।   

कप्तानगन्जको विवाद र झडप ‘ठूलो स्वरमा डिजे बजाएका’ कारण सुरु भएको सुरक्षाकर्मीले बताएका छन् । तर, केही स्थानीय यसको अन्तर्य अर्कै रहेको जिकिर गर्छन् ।

कप्तानगन्जको नयाँबजारमा साप्ताहिक हटिया (बजार) लाग्छ । त्यहाँ स्थानीयले सागसब्जी र उपभोग्य वस्तु खरिदबिक्री गर्छन् ।

एक महिनाअघि मुस्लिम समुदायको मोहरम पर्व थियो । त्यस अवसरमा खेल तमासा (कुस्ती) देखाउन बजारको एउटा भागमा स्काभेटर लगाएर खाल्डो खनियो । कुस्ती प्रतियोगिता सम्पन्न भयो । धुमधामसँग मोहरम मनाइयो । पर्व सकियो । मानिस आ–आफ्नो काममा व्यस्त भए ।

तर, खाल्डोको विवाद सकिएन । पूर्ववत् रूपमा बनाउनुपर्ने अर्को समुदायले माग गर्न थाल्यो । देवानगञ्ज–३ को वडा कार्यालयमा स्थानीय ‘डेलिगेसन’ गए । वडाध्यक्ष अनिल भगतले ‘पालिका प्रमुख बेचन मेहता र सुरक्षाकर्मीको उपस्थितिमा छलफल राखेर खाल्डो पुर्न लगाउँछु’ भन्ने आश्वासन दिए । यसबारे स्थानीयले इलाका प्रशासन र सशस्त्र प्रहरी बलको कार्यालयमा समेत जानकारी गराएका थिए ।

संविधानसभा सदस्य एवं समाजसेवी मुगालाल मेहताले बुधबार स्थानीयसँग छलफल गर्न कप्तानगन्ज पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्याललाई पनि यसबारे जानकारी गराएका थिए ।

‘‘बेलैमा सानो विषयलाई ध्यान नदिइँदा यत्रो ठूलो घटना हुन गयो,” मेहताले भनेका थिए, “समयमै यस्ता विषयमा ध्यान दिएको भए सायद यस्तो घटना हुने थिएन कि !”

खाल्डो पुर्ने माग र छलफल गर्ने कुरा भइरहँदा देवानगञ्ज गाउँपालिकाका प्रमुख मेहता व्यक्तिगत कामले काठमाडौं आएपछि यो विषय त्यसै थाती रहेको थियो ।

sunsari-kaptangunj6-1785408905.jpg
के हो झन्डा र डिजे प्रकरण ?
साउन १० गते देवानगञ्जका केही युवा डिजेमा शिव भजन बजाउँदै उत्तरतर्फ अघि बढ्छन् । आवाज चर्को नै सुनिन्छ । बोलबम बोलबमको आवाज गुन्जिएको हुन्छ । तर, डिजे गाडीमा एक्कासि ढुंगामुढा भई वादविवाद र घम्साघम्सी चल्छ । त्यही बेला बिजुली जान्छ ।

अन्धकारबीच नै गोली चलेको आवाज सुनिन्छ । केही युवा ढल्छन् । अरू युवाले हतारहतार घाइतेलाई विराटनगरका अस्पतालतिर दौडाउँछन् । भागाभाग चल्छ । करिब डेढ घण्टापछि बिजुली मात्र आउँछ ।

बिजुली आउँदा कप्तानगन्जको अवस्था रणमैदानजस्तो बनिसकेको हुन्छ । घटनामा सुरक्षाकर्मीसहित केही स्थानीय घाइते हुन्छन् । २४ वर्षीय मेहताको मृत्यु हुन्छ । त्यसयता निषेधाज्ञा, कर्फ्यु, विरोध प्रदर्शन, सेना परिचालन, विभिन्न स्थानमा आगजनी र तोडफोडको घटना भएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालको भेन्टिलेटरमा उपचाररत अर्का युवक २२ वर्षीय जयप्रकाश मेहताको पनि मृत्यु भएको छ । बिहीबार दिउँसो उनको मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो ।

कप्तानगन्जमा आइतबार राति निमेषभरमै उक्त घटना भएको स्थानीय अरविन्द मेहता बताउँछन् । ‘‘बजारनजिकैको झाडीबाट एक्कासि गोली चलेपछि माहोल खराब भयोे,” उनले भने ।

कप्तानगन्जमा पुरानो शिव मन्दिर छ । त्यो मन्दिर धेरैपहिले स्थानीय समाजसेवी जोगबहादुर बस्नेतले निर्माण गराएका थिए । अहिले बस्नेतको परिवार त्यहाँ बस्दैन ।

शिव मन्दिरछेवैमा दक्षिणपट्टि मुस्लिम समुदायको मदरसा छ । त्यहाँ छात्रवाससहित करिब ६०० विद्यार्थी अटाउने भवन छ । नजिकै केही मुस्लिम समुदायका घरहरू छन् ।

‘‘त्यही मन्दिरमा हिन्दु धर्मावलम्बीले पूजाआजा गर्छन्,” मेहताले भने, “डिजे पहिलोपटक बजेको होइन, बोलबम सधैँ हुन्थ्यो, जल ल्याएर त्यही मन्दिरमा चढाउने गरिन्थ्यो ।”

‘किन बजाएको भनेर अर्को समुदायले प्रतिकार गरेपछि विवाद भएको, यसबारे प्रहरीलाई पनि खबर गरिएको तर अरू उपाय नअपनाई किन सिधै गोली चलाइएको हो त ?’ मेहताले प्रश्न गरेका छन् ।

मोहरमका बेला कप्तानगन्ज चोकमा मुस्लिम समुदायले राखेको झन्डा च्यातेको भन्ने विषयले थप विवाद बढेको देखिएको बारेमा गृह मन्त्रालयको छानबिन समितिका पदाधिकारीलाई स्थानीयले बताएका छन् । तर, विवादको चुरो बजार क्षेत्रमा खनिएको खाल्डोबाटै सुरु भएको मेहताले दाबी गरे ।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहताले मिलेर बसेको समुदायमा जे जति कारणले घटना भए पनि अब थप बढाउन नहुने भन्दै सामाजिक सद्भाव कायम गराउन आह्वान गरेका छन् । “घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही हुनुपर्छ,” उनले भनेका छन् ।

sunsari-ghatana-chhanbin-samiti8-1785408978.jpg
अस्पतालमा शव, घाइते गम्भीर
कप्तानगन्ज घटनामा मृत्यु भएका स्थानीय ओमप्रकाश मेहताको शव अस्पतालमै छ । परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । शवको पोस्टमार्टम समेत हुन सकेको छैन । मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ ।

मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति दिन र घटनाका दोषीलाई कारबाहीको माग आफन्तले गरेका छन् । सहिद घोषणा र क्षतिपूर्तिबारे संघ सरकारले निर्णय गरेको छैन । कोसी प्रदेश सरकारले भने मृतकका परिवारलाई दुई लाख र घर तथा व्यवसायमा क्षति पुगेका अनि घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

मागबारे बुधबार कप्तानगन्ज पुगेको गृह मन्त्रालयको छानबिन समितिलाई पनि जानकारी गराइएको देवानगञ्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहताले बताएका छन् । 

देवानगञ्जमा भएको सर्वपक्षीय बैठकमा मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, स्थानीय मदरसाको उचित व्यवस्थापन र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको थियो ।

गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरेको समितिले बुधबार नै मृतकका परिवारसँग भेटघाट गरी घटनाबारे सोधेको थियो ।

घाइतेमध्ये एकजनाको अवस्था अझै गम्भीर छ । बाँकी सातजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

विराट नर्सिङहोममा चार, न्युरोमा तीन र नोबेल शिक्षण अस्पतालमा एकजनाको उपचार जारी छ । नोबेलमा उपचाररत १८ वर्षीय अमित यादवको अवस्था पनि गम्भीर छ । 

छानबिन समितिले के गर्‍यो ?
सहसचिव भूपेन्द्र थापा संयोजकत्वको समितिले बुधबार नै मृतकका परिवार, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवासँग भेटघाट गरी घटनाबारे जानकारी लिएको छ ।

टोलीले गोली चलेको बजार क्षेत्रको झाडीलाई घेरेर त्यहाँ उपलब्ध प्रमाण संकलन गरेको छ । छानबिन समितिले गोलीका खोकालगायत वस्तु संकलन गरेर लगेको स्थानीयले बताएका छन् ।

समितिसँगको छलफलका क्रममा पालिकाका प्रमुख तथा जनप्रतिनिधिले घटनाको सूक्ष्म अनुसन्धान गरी विवाद समाधान गरिनुपर्ने, पीडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।