न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यबारे विस्तृत छलफल भएको छ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार शाहले बाढीपछि जारी उद्धार तथा राहत अभियानका साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे प्रधानमन्त्री लक्सनलाई जानकारी गराएका थिए।
शाहले पाँच जना न्युजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए। उनीहरूले सुरक्षित रूपमा फेला पर्ने विश्वास व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारीसमेत गराएका थिए।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा विपद्पछि न्युजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए। उनले संकटको समयमा न्युजिल्याण्डले देखाएको सहयोग र ऐक्यबद्धताको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले अत्यन्त संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति तथा नोक्सानी न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।
उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘क्षति तथा नोक्सानी’ (Loss and Damage) का लागि आवश्यक वित्तीय स्रोत जुटाउन न्युजिल्याण्ड सरकारबाट रचनात्मक तथा निरन्तर सहयोगका लागि आग्रह गरेका थिए।
त्यस अवसरमा न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्याण्ड सरकार तथा जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका थिए। उनले विपद्को यस कठिन समयमा नेपालप्रति न्युजिल्याण्डको ऐक्यबद्धता रहेको स्पष्ट पारेका थिए।
दुई प्रधानमन्त्रीबीचको वार्तालाई नेपाल–न्युजिल्याण्ड सम्बन्धका साथै विपद् व्यवस्थापन, मानवीय सहयोग र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य थप मजबुत बनाउने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।