‘टुगेदर फर नेपाल’ फन्डरेजिङ डिनरबाट बाढीपीडितका लागि १ लाख डलरभन्दा बढी संकलन

185 Shares

न्युजिल्याण्डमा नेपाली समुदायको पहलमा आयोजित ‘Together for Nepal – Fundraising Dinner’ बाट नेपालका बाढीपीडितका लागि १ लाख न्युजिल्याण्ड डलरभन्दा बढी रकम संकलन भएको छ।

न्युजिल्याण्ड नेपाल सोसाइटी ले आयोजना गरेको उक्त कार्यक्रममा समुदायका सदस्य, व्यवसायी, दाता, स्वयंसेवक, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू एकजुट हुँदै नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न हातेमालो गरेका थिए।

कार्यक्रममा न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले एकताको सन्देश  दिदै नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाएका थिए। त्यस्तै, परराष्ट्रमन्त्री विन्स्टन पिटर्स, स्वास्थ्य मन्त्री सिमोन ब्राउन, अकल्याण्डका डेपुटी मेयर डेस्ली सिम्पसन, न्युजिल्याण्डका लागि भारतका कन्सुल जनरल डा. मदन मोहन सेठी, सांसदहरू तथा विभिन्न समुदायका अगुवाहरूको समेत कार्यक्रममा उपस्थिति र समर्थन रहेको आयोजकले जनाएको छ।

NZNS ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दाता, स्वयंसेवक, कलाकार तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरेको छ। उनीहरूको उदार सहयोग र सहभागिताका कारण १ लाख डलरभन्दा बढी रकम जुटाउन सफल भएको सोसाइटीले जनाएको छ।

कार्यक्रम सफल बनाउन पुर्व वाणिज्य दुत दिनेश खड्काको विशेष योगदान रहेको NZNS ले उल्लेख गरेको छ। योजना निर्माणदेखि कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्म निरन्तर खटिएका खड्काले समुदायभित्र र बाहिरका व्यक्तिहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गर्दै सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको सोसाइटीले जनाएको छ।

त्यस्तै, NZNS का अध्यक्ष डा. रोशन खड्काको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको प्रतिबद्धता र सामूहिक प्रयासको पनि प्रशंसा गरिएको छ।

NZNS ले संकलित रकमको प्रयोगमा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक कारोबारको पूर्ण विवरण तथा आर्थिक अपडेट छिट्टै आफ्ना सबै सदस्यसमक्ष सार्वजनिक गर्ने जनाएको छ।

नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि न्युजिल्याण्डमा नेपाली समुदायले गरेको यो पहललाई मानवीय सहयोग र सामुदायिक एकताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

‘टुगेदर फर नेपाल’ अभियानमार्फत सहयोग गर्ने सबैप्रति NZNS ले हृदयदेखि नै धन्यवाद व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार

सबै