न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
नेपाल न्युजिल्याण्ड सोसाइटीको आयोजनामा आयोजित राहत कोष संकलन रात्रीभोजमा बोल्दै लक्सनले विपत्तिबाट भएको जनधनको क्षति अत्यन्तै हृदयविदारक रहेको बताए।
उनले संकटको यस घडीमा न्युजिल्याण्ड नेपाल र नेपाली जनताको साथमा रहेको स्पष्ट पार्दै दुई देशबीचको सम्बन्ध मित्रता, आपसी सम्मान र ऐतिहासिक सहकार्यमा आधारित रहेको उल्लेख गरे। न्युजिल्याण्डमा रहेको नेपाली समुदायले देशको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको पनि उनले बताए।
बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण गर्न सम्भव नहुने भन्दै उनले त्यसका लागि समय र धैर्यता आवश्यक रहेको बताए।
लक्सनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद भएको जानकारी दिँदै बाढीपहिरो प्रभावित परिवारका लागि न्युजिल्याण्डले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।
‘भत्किएका संरचना एकैपटक निर्माण गर्न सकिँदैन, त्यसका लागि समय लाग्छ। यो कठिन समयमा न्युजिल्याण्ड नेपाल र नेपाली जनताको साथमा छ,’ उनले भने।
उनले नेपाली जनतालाई कठिन परिस्थितिमा पनि आशा र भरोसा कायम राख्दै अघि बढ्न आग्रह गरे।