न्युजिल्याण्डको सुपरमार्केट बजारमा ठूलो संरचनात्मक परिवर्तन ल्याउने योजना नेसनल पार्टीले अघि सारेको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पुनः सरकारमा आएमा फुडस्टफ्स (Foodstuffs) लाई विभाजन गरी पाक’एनसेभ (PAK’nSAVE) लाई न्यू वर्ल्ड (New World) र फोर स्क्वायर (Four Square) बाट अलग गर्ने प्रस्ताव अघि सारिएको हो।
हाल पाक’एनसेभ, न्यू वर्ल्ड र फोर स्क्वायर फुडस्टफ्सअन्तर्गत सञ्चालन हुँदै आएका छन्। अर्कोतर्फ, वुलवर्थ्स (Woolworths) न्युजिल्याण्डको अर्को प्रमुख सुपरमार्केट समूह हो।
प्रस्ताव कार्यान्वयन भएमा पाक’एनसेभ एउटा छुट्टै राष्ट्रिय सुपरमार्केट समूह, न्यू वर्ल्ड र फोर स्क्वायर अर्को समूह तथा वुलवर्थ्स तेस्रो प्रमुख समूहका रूपमा रहनेछन्। यसले हालको दुई ठूला समूहमा केन्द्रित सुपरमार्केट बजारलाई तीन प्रमुख राष्ट्रिय प्रतिस्पर्धी समूहमा पुर्याउने लक्ष्य राखेको छ।
नेसनलका अनुसार सुपरमार्केटबीच प्रतिस्पर्धा बढेमा मूल्य, छुट, उत्पादनको छनोट र सेवामा उपभोक्तालाई थप फाइदा पुग्न सक्छ। पार्टीले उद्धृत गरेको आर्थिक विश्लेषणअनुसार विभाजन सफल भएमा दीर्घकालमा घरपरिवारको खर्चमा बचत हुन सक्ने र किराना मूल्यमा कमी आउन सक्ने अनुमान गरिएको छ।
तर पाक’एनसेभ र न्यू वर्ल्ड तत्कालै छुट्टिने भने होइन। नेसनल पुनः सरकारमा आएमा पहिलो १०० दिनभित्र Grocery Industry Competition Act संशोधन गरी कमर्स कमिसनलाई करिब ६ महिनाको अध्ययन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी दिने योजना छ। कमर्स कमिसनले विभाजनबाट उपभोक्तालाई वास्तविक लाभ हुने निष्कर्ष निकालेमा मात्र त्यसलाई कानुनी रूपमा अघि बढाउने नेसनलले जनाएको छ।
प्रस्तावमा पाक’एनसेभ, न्यू वर्ल्ड वा फोर स्क्वायरका व्यक्तिगत स्टोर सञ्चालकलाई आफ्नो व्यवसाय बेच्न वा ब्रान्ड परिवर्तन गर्न बाध्य नपारिने पनि स्पष्ट गरिएको छ।
यद्यपि, फुडस्टफ्सको संरचना विभाजन गर्दा आपूर्ति प्रणाली, गोदाम, खरिद र अन्य सञ्चालन खर्च बढ्न सक्ने भएकाले यसको वास्तविक प्रभावबारे प्रश्नसमेत उठेका छन्। आर्थिक विश्लेषणले पनि विभाजनबाट हुने फाइदा आपूर्ति–शृङ्खला लागत कति बढ्छ भन्ने कुरामा निर्भर रहने उल्लेख गरेको छ।
यस प्रस्तावसँगै न्युजिल्याण्डको खाद्यान्नको मूल्य, सुपरमार्केट प्रतिस्पर्धा र उपभोक्ता हित आगामी निर्वाचनको प्रमुख आर्थिक मुद्दामध्ये एक बन्ने देखिएको छ।