बूढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी

42 Shares

गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताइन् ।

धार्चे गाउँपालिका–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ । धार्चे– ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ ।

आरुघाट–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ भने चुमनुब्री–३, सल्लेरी स्थित निर्माणाधीन सहज ऊर्जा पावरहाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको छ ।

आरुघाट–९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगेर बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

साथै धार्चे–३, सल्लेरीस्थित २०/२२ घरहरु जोखिममा रहेको प्रारम्भिक विवरण छ ।

बाढीको कारण खुलिसकेको छैन । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाका बरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बूढीगण्डकीको उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । त्यसैले सुक्खा पहिरो गएर थुनिएको वा हिमपहिरो गएको आशंका गरिएको छ ।

पराजुलीका अनुसार बाढीको कारणबारे अध्ययन भइरहेको छ । उनले भने, ‘मानववस्तीभन्दा पनि माथि हिमाली क्षेत्रबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ । पहिरोले थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो भन्ने समग्र कारणबारे अध्ययन गरिरहेका छौं ।’

प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

यस बाढीको प्रभाव गोर्खा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

 

सम्बन्धित समाचार

सबै