पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’ यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया रोक्न माग गर्दै आयोगमा उजुरी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । रवि लामिछानेले उक्त नामको पार्टी दर्ताका लागि निवेदन दिएपछि स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले दलको नाममा भएको स्वतन्त्र शब्दप्रति आपत्ती जनाउदै आयोगमा उजुरी दर्ता गरेका हुन् । स्वतन्त्र शब्दको अपव्याख्या भएको र जनतामा भ्रम पर्न गएकाले उक्त शब्द भएको दल दर्ता गर्न नहुने उनीहरूको भनाइ छ । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने अधिकार रहेको भन्दै स्वतन्त्र शब्दलाई दुरुपयोग गर्न खोजिएको बताए ।