भोलि शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्। जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्। भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित एमाले सांसद हुन्। उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्। भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्।