अस्ट्रेलियामा नर्सको अभाव, १० हजार नयाँ विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्ययन गराउने – New Zealand News Nepal (NZ News Nepal)

अस्ट्रेलियामा नर्सको अभाव, १० हजार नयाँ विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्ययन गराउने

   September 3, 2022  

अस्ट्रेलियाले १० हजारभन्दा बढी नयाँ विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्ययन गराउने भएको छ । स्वास्थ्य क्षेत्रमा नर्सलगायत कर्मचारीको अभाव चर्कंदै गएपछि भिक्टोरिया राज्य सरकारले यो योजना सार्वजनिक गरेको हो । अस्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया मात्र नभई आठवटै राज्य तथा टेरिटोरीमा अहिले व्यापक कर्मचारी अभाव देखिएको छ । विशेषगरी कोरोना महामारीपछि केन्द्र तथा राज्य सरकारले स्वास्थ्य क्षेत्रमा कर्मचारी अभावको सामना गर्दै आएका छन् । जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले हजारौं नयाँ विद्यार्थीलाई नर्सिङ पढ्न तथा नर्सिङ अध्ययन गरिसकेकालाई विशेष विषय लिएर अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले २ सय ७० मिलियन डलर (करिब २ अर्ब रुपैयाँ) को योजना सार्वजनिक गरेका हुन् । ‘महामारीका कारण स्वास्थ्य क्षेत्र समस्यामा परेकाले कडा परिश्रम गरिरहेका कर्मचारीलाई सहयोग गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,’ एन्ड्रुजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनाअन्तर्गत नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका रूपमा करिब ९ हजार डलरका दरले उपलब्ध गराइने र अध्ययन सकेर २ वर्ष सरकारी क्षेत्रमा काम गरिसकेपछि थप ७ हजार ५ सय उपलब्ध गराइने जनाइएको छ । यस योजनाअन्तर्गत दुई वर्षको अवधिमा १० हजारभन्दा बढीलाई स्वास्थ्य क्षेत्रमा आकर्षित गर्ने राज्य सरकारले लक्ष्य लिएको छ ।