गत अगस्त १७ देखि न्युजिल्याण्ड सरकारले देशभर लगाएको कडा लकडाउन आज मध्यरातबाट केही खुकुलो हुने भएको छ । लेभल ४ लकडाउन घोषणा गरेको १५ दिन पछि सरकारले अकल्याण्ड र नर्थल्याण्ड बाहेक देशभरी लेभल ३ को लकडाउन लगाउने घोषणा गरेको हो । सबैभन्दा बढी संक्रमित देखिएको अकल्याण्ड र नयाँ संक्रमित भेटिएको नर्थल्याण्डमा भने लेभल ४ नै कायम रहने छ । अकल्याण्डमा लेभल ४ आउदो दुई सातासम्म रहने छ भने नर्थल्याण्डमा भने बिहीवारसम्म लेभल ४ रहने छ । बाँकी देश भने आजै मध्यरात १२ बजेबाट लेभल ३ मा जाने छ ।
के हो लेभल ३ लकडाउन ?
गत वर्ष पहिलो पटक कोरोना भाईरस न्युजिल्याण्ड प्रवेश गर्दा प्रधानमन्त्री जसिन्डा आर्डेनले जारी गरेको लकडाउनको ४ चरण मध्य तेस्रो चरण हो लेभल ३ लकडाउन । लेभल ३ लकडाउनलाई लेभल ४ कै सरहमा लिईन्छ । लेभल ४ मा अपनाईने सबै नियम लेभल ३ मा पनि लागु हुन्छ । मास्कलाई सार्वजनिक स्थानमा अनिवार्य गरिएको छ । त्यस्तै विवाह र मलामी जस्ता कार्य गर्न १० जना सम्म भेला हुन सकिने छ । रेस्टुरेन्ट, क्याफे हरु बन्द रहने छन् तर टेकअवे को सुबिधा भने लेभल ३ मा उपलब्ध हुने छ । त्यस्तै स्कुल , कलेज लेभल ३ मा पनि बन्द नै रहने छन् । अत्यावश्यक बाहेकमा अन्य क्षेत्र पनि लेभल ३ मा खोल्न पाईने छैन ।



