कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो। ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्। यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई देश अघिल्लो चरणमा प्रेवेश गर्नेछन्। विश्वकपको विजेताले चार करोड २० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन करोड डलर पाउँदा तेस्रो हुनेले दुई करोड ७० लाख र चौंथो हुनेले दुई करोड ५० लाख डलर पाउनेछन्। विश्वकपका सबै खेल कतारमा बनेका आठ वटा रंगशालामा हुनेछन्। प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतबार साँझ फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछन्। अमिर अल थानीले आइतबार अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
समारोहमा राष्ट्र प्रमुख र प्रतिनिधिमण्डलका प्रमुखहरूको पनि उपस्थिति रहने छ। सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनका लागि दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ। समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ।