राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ससर्त सरकारमा जान तयार देखिएको छ। संसद् बैठक बस्ने तयारीसँगै नयाँ सरकार निर्माणको पहल भइरहेको बेला रास्वपा सरकारमा जान खुला देखिएको हो। ४ मंसिरको प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिटसहित जम्मा २० सिट जितेर संसदको चौथो शक्ति बनेको रास्वपालाई साथ लिएर सरकार बनाउने योजना कांग्रेस र एमाले दुवैको देखिन्छ। सरकारमा जाने कि नजाने भन्ने विषयमा रास्वपाभित्र दुई धार छ। पदाधिकारीसहित केही सांसद अहिले सरकारमा जान नहुने वकालत गरिरहेका छन्। तर, अन्य सांसदहरु जनतासँग गरेका बाचा कार्यान्वयनका लागि पनि सरकारमा जानपर्ने धारणा राख्छन्।
यसै साता बस्न लागेको रास्वपाको केन्द्रीय समितिले यसबारे आधिकारिक निर्णय गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। ‘जनतासँग गरेको बाचा पुरा गर्ने ठाउँ सरकार हो, त्यहाँबाट डेलिभरी गर्न सके काम हुन्छ,’ सरकारमा जानुपर्ने पक्षमा रहेका रास्वपाका एक नेताले भने, ‘यही संविधान र यही व्यवस्थाबाट ठूलो काम गर्न सकिन्छ।’ उनका अनुसार सभापति रवि लामिछाने सरकार निर्माणकै विषयमा केही दलसँग संवादमा छन्। पछिल्लो एक हप्तामा लामिछानेले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेको र आइतबार र सोमबार पनि कांग्रेसका केही नेतासँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेको एक पदाधिकारीले बताए। ‘पार्टी सभापतिले सरकारमा जाने विषयमा गम्भीर संवाद गरेको सूचना पाएको छु,’ ती नेताले भने, ‘त्यसबारे पार्टीभित्र जानकारी छैन, सायद अब बस्ने केन्द्रीय समितिको बैठकमा यो एजेन्डा बन्न सक्छ।’ लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटवार्ता गरिसकेका छन्।


