कतारमा जारी विश्वकप फूटबलमा अर्जेन्टिना बिजयी भएको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो। लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।