सन् २०२२ न्युजिल्याण्डका लागि बिशेष वर्ष रह्यो । कोरोनाका कारण दुई वर्ष देखि थलिएको देश यो वर्षबाट विश्वमाझ पूर्ण रुपमा खुल्यो ।
आप्रवासीका लागि सन् २०२१ मा ल्याएको One Off Residency ले यो वर्ष पूर्णता पायो । कोरोनाका संक्रमितको संख्याले रेकर्ड नै तोड्यो । दैनिक १०० जना संक्रमित थपिदा लकडाउन भएको देशमा दैनिक २५ हजार भन्दा बढीलाई संक्रमण भयो ।
देशभर स्थानिय निर्वाचन भयो जसबाट केही शहरले नयाँ मेयर पाए भने केहीले पुरानालाई नै निरन्तरता दिए ।
नेल्सनमा बाढी पहिरोले बितण्डा मच्चाउदाँ अपराधिक कृयाकलापबाट अकल्याण्ड अछुतो रहेन ।

सन् २०२२ मै न्युजिल्याण्डको क्यालेण्डरमा थप एक दिन सार्वजनिक बिदा थपियो । सरकारले माओरी नयाँ वर्षको दिन मातारिकीको अवसरमा सन २०२२ देखि जुनमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । माओरी नयाँ वर्ष मे को अन्तिम देखि जुलाईको सुरुवात भित्र पर्ने गर्दछ । त्यसैले हरेक वर्ष यो दिवस भिन्न भिन्न दिनमा हुने छ ।
त्यस्तै २४ दिन सम्म न्युजिल्याण्डको संसदमा सरकारले अनिवार्य गरेको कोभिड खोपको बिरुद्ध प्रदर्शन भयो । ६ फेब्रुअरीबाट सुरु भएको प्रदर्शन २ मार्चमा प्रहरीको जबर्जस्ती धरपकडले अन्त्य भएको थियो ।

कोरोनाका कहरका बिच जुलाईमा मकींपक्सको संक्रमण न्युजिल्याण्डमा देखियो । जुलाई कै अन्तिम बाट २ वर्ष देखी बन्द रहेको न्युजिल्याण्डको सिमा पूर्ण रुपमा खुल्यो ।
न्युजिल्याण्डमा बढेको महँगाईलाई मध्यनजर गरेर सरकारले Cost of Living Payment ल्यायो जसअन्तरगत न्युजिल्याण्डमा काम गर्ने हरेक व्यक्तीलाई सरकारको तर्फबाट ३५० डलर महँगाई भत्ता प्रदान गरियो ।
८ सेप्टेम्बरमा महारानी एलिजाबेथको निधन पछि न्युजिल्याण्डले नयाँ राजाको रुपमा राजकुमार चार्ल्सलाई पायो ।

सेप्टेम्बर मै सरकारले कोभिड नियन्त्रणका लागि लागु गरेको ट्राफिक लाईट सिस्टमलाई खारेज गर्यो ।
अमेरिकाको प्रसिद्द सुपरमार्केट Costco ले सेप्टेम्बरमा न्युजिल्याण्डमा आफ्नो पहिलो स्टोर खोल्यो ।

८ अक्टोबरमा देशभर स्थानिय तहको निर्वाचन भयो।
नोभेम्बरमा अकल्याण्डको एक डेरी पसलमा कार्यरत एक जना भारतीयको चक्कु प्रहार गरि हत्या गरियो जसबाट न्युजिल्याण्डको सुरक्षालाई लिएर प्रश्न उब्जियो । देशभरका डेरी पसलका कामदारहरु आन्दोलित हुन पुगे ।

नोभेम्बरमै न्युजिल्याण्डको राष्ट्रिय महिला टोलीले रग्वी विश्वकप जित्यो ।
डिसेम्बरको अन्तिम सम्म आईपुग्दा न्युजिल्याण्डको तापक्रम ह्वातै बढेको पाईयो । मेटसेर्भिसका अनुसार न्युजिल्याण्डको तापक्रम केही समयको लागि अझै बढ्न सक्ने छ ।
वर्षको अन्तिम दिन आज देशका बिभिन्न ठाउँमा आतिशबाजी सहित नयाँ वर्षलाई स्वागत गरिदैँ छ ।

कोरोनाका कारण सन् २०२१ र सन् २०२२ मा आतिशबाजीका कार्यक्रम गरिएको थिएन । तर राजधानी वेलिङ्टन लगायत अकल्याण्ड, क्राईसचर्च, ह्यामिल्टन, तउरङा, रोतोरुवा, डुनेडिनलगायत अधिकांश शहरमा आज आतिशबाजी सहित नयाँ वर्षलाई स्वागत गरिदै छ ।