न्युजिल्याण्ड सरकारले चीन हुँदै न्युजिल्याण्ड प्रवेश गर्नेलाई तत्कालका लागि कुनै नियम नलगाउने भएको छ ।
कोभिड १९ रेस्पोन्स मन्त्री एलिसा भेरलका अनुसार तत्कालका लागि न्युजिल्याण्डमा कोभिडको जोखिम रोक्न कुनै कदम नचालिने भएको हो ।
मन्त्री भेरलले अहिले नै निर्णय लिनु हतार हुने र त्यो आवश्यक नभएको बताएकी छिन् । हाल चीनमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्टले न्युजिल्याण्डमा स्वास्थ्य जोखिम नरहेको उनले बताईन । चीनबाट प्रवेश गर्नेले कोभिड टेस्ट पनि गर्न आवश्यक नरहेको मन्त्री भेरलको भनाई थियो ।
तत्कालका लागि कुनै कदम नचालिए पनि आगामी दिनमा यसबारेमा समिक्षा गरेर निर्णय लिने सरकारको योजना रहेको उनले आज आयोजित पत्रकार सम्मेलनमा बताएकी हुन् । उता अष्ट्रेलियाले भने भोलि अर्थात जनवरी ०५ बाट चीन हुँदै अष्ट्रेलिया प्रवेश गर्नेलाई अनिवार्य कोभिड टेस्ट गर्ने नियम लागु गर्न लागेको छ ।