पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ६ जना अझै फेला परेको छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरूको उद्धार कार्य सोमबार बिहानैबाट सुरु भइसकेको छ। प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अब ६ जना फेला पर्न बाँकी छ। ‘हिजो ४ वटा बाँकी छ भनेर भन्यौं। दौडधुपका कारण मिसइन्फरमेशन गएछ,’ केसीले भने, ‘अब ६ जना भेट्न बाँकी छ। पछि हामीले त्यो बुझियो। प्लेन तीन टुक्रा भएको थियो। हामीले खोजी पनि ३ तिरबाटै गरेका थियौं। सोही कारण यस्तो भयो।’ केसीका अनुसार ६३ वटा शव गण्डकी अस्पतालमा पुर्याइएको छ।
विमान दुर्घटनामा ४ वटा मात्र शव खोज्न बाँकी भएको नागरिक उड्ययन प्राधिकरणले नै जानकारी समेत दिएको थियो। तर, अझै ६ वटा शव भेट्न बाँकी भएको सिडिओ केसीले बताए।
सोही खोज्नका लागि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिइरहेको छ। बिहानैदेखि उद्धार टोली खटिएको भएपनि हुस्सु लागेका कारण समस्या भएको केसीले बताए। ‘निकै गहिरो र अँध्यारो खोँचमा शवहरु भएको अनुमान गरिएको छ। अहिले यतिबेला धेरै हुस्सु लागिरहेको छ,’ केसीले भन, ‘हाम्रो टोली तैनाथ छ। सहज हुनेबित्तिकै उहाँहरु तल जानुहुन्छ।’
आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो।
आइतबार दिनभर पनि उद्धार कार्य जारी थियो। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए।


