भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम लिँदैनौं : रवि लामिछाने – New Zealand News Nepal (NZ News Nepal)

भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम लिँदैनौं : रवि लामिछाने

   May 27, 2023  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढछौं। यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला,’ लामिछानेले भने, ‘कत्रो सजाय भोग्नु पर्छ होला। मलाई थाहा छैन। मलाई मतलब छैन।’ शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए। नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। ‘नेपाली जनताले त्यसै भोट हालेका होइन। भोट हाल्न नेता नभएर होइन। नेपाली जनतालाई जिन्दावाद भन्न अरु कुनै पार्टी नभएर होइन। नेपाली जनतालाई भोट हाल्नका लागि अरु कुनै चिन्ह नभएर होइन,’ सभापति लामिछानेले भने, ‘नेपाली जनताले यो भ्रष्टाचार चाँही निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन। नेता नभएर होइन। पार्टी नभएर होइन। झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन। यो कुरा हामीले बुझेका छौं।’ जतिसुकै घेराबन्दी र मुद्दा चलेपनि भ्रष्टहरुको जरो नउखल्दासम्म आफूहरु विश्राम नलिने उनले बताए। ‘त्यसकारणले जतिसुकै घेराबन्दी हुन। जतिसुकै मुद्दा चल्दै गरुन। भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं,’ उनले भने, ‘अरु विवाद हामी गर्दै गरौंला। अरु छलफल हामी गर्दै गरौंला।’ सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे। संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत उनले बताए।