नेपालमा आज १६औं गणतन्त्र दिवस मनाइँदै – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा आज १६औं गणतन्त्र दिवस मनाइँदै

   May 29, 2023  

नेपालमा आज १६औं गणतन्त्र दिवस मनाइँदै छ। सरकारले गणतन्त्र दिवसलाई महान् उत्सवका रूपमा मनाउन अपिल गरेको छ। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।

काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख लगायत सरकारका उपप्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपस्थिति थियो।
समारोहमा सरकारका उच्च अधिकारी, कुटनीति क्षेत्रका प्रतिनिधि लगायत पनि उपस्थित थिए।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरुले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलका नेताहरूले गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई अभिनन्दन प्रकट गरेका छन्।

नेकपा माओवादीको सशस्त्र विद्रोह तथा विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।