Photo: Blessen Tom
न्युजिल्याण्डमा बिभिन्न क्षेत्रमा काम पाईने भन्दै वर्क भिसामा आएकाहरु अलपत्र परेका छन् । अकल्याण्डको पापाकुरामा करिब ४० जना आप्रवासीहरू एउटै घरमा बिचल्ली अवस्थामा रहेको कुरा न्युज हबले सार्वजनिक गरे पछि यो घटना बहिरिएको हो ।
खाना नपाएर पानीको साहरामा बसिरहेका ४० जना आप्रवासीहरू अकल्याण्डको एउटा घरमा बस्न बाध्य भएको कुरा उक्त रिपोर्टमा उल्लेख गरेको छ । न्युजिल्याण्डमा काम पाईने भनेर २० देखि २५ हजार डलर सम्म तिरेर आफुहरु आएको तर अहिले सम्म एक घण्टा पनि काम नगरेको पीडितहरुले बताएका छन् ।
एक्रेडिटेड वर्क भिसा स्किम अन्तर्गत उनीहरु न्युजिल्याण्ड आएका हुन् । यसले उनिहरुलाई न्युजिल्याण्ड ल्याउने कम्पनी माथि प्रश्न उठेको जानकारहरु बताउछन् । अध्यागमन बिभागले यस बिषयमा अनुसन्धान सुरु गरेको छ । आप्रवासी शोषण गरेको आधारमा कारवाही अगाडि बढाईने ईमिग्रेसन न्युजिल्याण्डका अधिकारीले बताएका छन् ।
न्युजिल्याण्डका अन्य क्षेत्रमा पनि यस्तो घटना घटेको हुनसक्ने , एउटा काम भनेर अर्को काम लगाईरहेको हुनसक्ने भनेर नडराई आफ्नो कुरा बाहिर ल्याउन एक्रेडिटेड वर्क भिसामा न्युजिल्याण्ड आएकाहरुलाई ईमिग्रेसन न्युजिल्याण्डले आवहान गरेको छ ।
उता सरकारले एक्रेडिटेड वर्क भिसा स्किमलाई समेत समीक्षा गर्ने भएको छ । यो भिसामा आउनेहरुमाथी न्युजिल्याण्डमा शोषण भईरहेको खबर बाहिरिएपछि यो भिसा बारे सरकारले रिभ्यु गर्न लागेको हो । हाल सम्म १६० एक्रेडिटेड कम्पनी माथि छानबीन सुरु गरिएको बताईएको छ । जसमध्ये हालसम्म ५ वटा कम्पनीको मान्यता खारेज गरिएको छ । न्युजिल्याण्डमा एक्रेडिटेड वर्क भिसा स्किम अन्तरगत न्युजिल्याण्ड आएकाहरुले चरम आप्रवासी शोषण गरेको उजुरीको आधारमा अध्यागमनले अनुसन्धान सुरु गरेको हो । त्यही अनुरुप सरकारले यो भिसा स्किमबारे समिक्षा गर्ने लागेको हो ।


