न्युजिल्याण्डमा चुनावी सर्गर्मी बढ्दै छ । आउँदो अक्टोबर १४ तारिकका दिन हुने निर्वाचन पछि सत्तामा कुन दल आउने भन्ने चर्चा यति खेर भईरहेको छ । त्यसो त अहिले न्युजिल्याण्डमा लेबर पार्टीको सरकार छ ।
लेबर पार्टीले सन् २०१७ देखि २०२० सम्म र २०२० देखि २०२३ सम्म गरेर ६ वर्ष सरकार संचालन गरिरहेको छ । जसिन्डा आर्डेन प्रधानमन्त्री हुँदा सम्म लेबरको क्रेज देशभर थियो । सन् २०१७ मा ४६ सिट जितेर लेबरले न्युजिल्यान्ड फर्स्ट र ग्रिन पार्टी सँग सत्ता साझेदार गरेको थियो । सन् २०२० को चुनावमा जसिन्डा र लेबरको क्रेजले पार्टीलाई एैतिहासिक सफलता दिलायो ।
लेबर एक्लैले बहुमत अर्थात ६५ सिट प्राप्त गर्यो । सन् २०२३ को सुरुवातमा नै प्रधानमन्त्री आर्डेनले राजिनामाको घोषणा गरेपछि अब न्युजिल्याण्डको सत्ता संचालन कसरी हुन्छ भन्ने चिन्ता सुरु भएको थियो । जसिन्डाको बहिर्गमन पछि क्रिस हिप्किन्स प्रधानमन्त्री बने । तर उनको अहिले सम्मको कार्यकाल त्यती सफल हुन सकेको छैन ।
लगातार प्रधानमन्त्री र उनका मन्त्रीहरुको असफलताका बिच आउदो चुनावमा लेबरको सिट घट्ने अधिकांशको बिश्लेषण छ । पछिल्ला केही पोल हरुले पनि त्यस्तै देखाएको छ । न्युजहबको पछिल्लो पोल अनुसार आउदो निर्वाचनमा नेसनल पार्टीको सरकार बन्ने बलियो सम्भावना रहेको छ । उक्त पोलमा नेसनल र एसीटीले सरकार बनाउने सम्भावना रहेको नतिजा बाहिरिएको छ ।
ओक्टोबरमा हुने निर्वाचनमा नेसनलले ४२ सिट ल्याउने र एसीटीको १६ सिट हुने पोलको नतिजाले देखाएको छ । न्युजिल्याण्डमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ । यस्तोमा हालका बिपक्षी दल नेसनल र एसीटीले ६३ सिटका साथ सरकार बनाउने छ । उता लेबरले ४२ सिटमा चित्त बुझाउनु पर्ने छ । त्यस्तै ग्रिन पार्टीको १२ र माओरी पार्टीको ३ सिट हुने पोलले देखाएको छ । यो एउटा पोलको प्रारम्भिक नतिजा मात्र हो । तर अरु पोलमा पनि नेसनलनै सत्तामा आउन सक्ने सम्भावना देखिएको छ ।
नेसनल ६ वर्षपछि सत्तामा फर्किन चाहन्छ भने लेबर आफ्नो सत्ता जोगाउन चाहन्छ । सन् २००८ , २०११ र २०१४ मा भएको आमनिर्वाचनमा न्युजिल्याण्डमा नेसनल पार्टीको सरकार थियो । त्यस पछि सन् २०१७ मा भएको निर्वाचनमा लेबर पार्टीले न्युजिल्याण्डको सबैभन्दा ठुलो पार्टी बन्दै जसिन्डा आर्डेनको नेतृत्व सरकार गठन गरेको थियो । सन् २०२० मा लेबरलाई बहुमत प्राप्त भयो र आर्डेन दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बनिन् ।
दुई कार्यकाल सफलता पुर्वक पुरा गरेको लेबरलाई अब सत्ता जोगाउन भने सजिलो छैन । लेबरको लागि सत्ता जोगाउन मुख्य बिपक्षी दल नेसनल मुख्य चुनौती रहेको छ। जनतामा सरकारमा आएको अविश्वासका कारण पनि लेबरको सरकारमा भविष्य अन्योल देखिएको छ ।
हरेक ३ वर्षमा हुने न्युजिल्याण्डको आमनिर्वाचन आउदो ओक्टोबर १४ तारिकका दिन हुँदै छ ।
हाल न्युजिल्याण्डको संसदमा ५ वटा पार्टीको प्रतिनिधित्व रहेको छ जस्मा प्रधानमन्त्री क्रिस हिप्किन्स लेबर पार्टीले गत २०२० को निर्वाचनमा ६५ सिट हासिल गर्दै पहिलो पार्टी बनेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षमा रहेको नेशनलको ३३ सिट, एसीटीको १० सिट र माओरी पार्टीको २ सिट रहेको छ । लेबर सँग सहकार्य गरेर सरकारमा रहेको ग्रीन पार्टीको १० सिट रहेको छ ।