न्युजिल्याण्डमा यती बेला देश कै नाम परिवर्तन गर्ने बारे बहस चलिरहेको छ । बिगत केही दिन देखि राजनीतिक र सामाजिक रुपमा नै यस्को चर्चा सुरु भएको हो । राजनीतिक दल ते पार्टी माओरीले न्युजिल्याण्डको नाम अधिकारिक रुपमा माओरी भाषामा हुनु पर्ने भन्दै औटेरोवा (Aotearoa) नाममा अभियान संचालन गरेपछि यस्को बहस हुन थालेको हो । सो दलका नेताहरु यो बहस संसदमा लाने कुरा बताईरहेको बेला वन न्युजले यसबारेमा सर्वेक्षण गरेको छ । जसमा न्युजिल्याण्ड देशको नाम न्युजिल्याण्ड नै राख्ने वा औटेरोवा (Aotearoa) राख्ने वा औटेरोवा न्युजिल्याण्ड (Aotearoa New Zealand) राख्ने भन्ने कुरा सोधिएको थियो । वन न्युजका अनुसार सर्वेक्षणमा सहभागी मध्य हालको नाम न्युजिल्याण्डमा बढी मत परेको छ । जस अन्तर्गत न्युजिल्याण्ड नाम नै यथावत राख्न ५८ % मत आएको बताईएको छ । त्यस्तै औटेरोवा (Aotearoa) वा औटेरोवा न्युजिल्याण्ड (Aotearoa New Zealand) राख्ने भन्नेमा ४१ % मत आएको छ । त्यस्तै अर्को सर्वेक्षणमा परिवर्तन नै गर्नु पर्ने औटेरोवा (Aotearoa) राख्ने वा औटेरोवा न्युजिल्याण्ड (Aotearoa New Zealand) राख्ने भन्ने कुरा सोधिएको थियो । यसमा भने औटेरोवा (Aotearoa) राख्ने भन्नेमा जम्मा ९ % छन् तर औटेरोवा न्युजिल्याण्ड (Aotearoa New Zealand) राख्ने भन्नेमा ३१ % छन् । प्रधानमन्त्री जसिन्डा आर्डेनले पनि आफुले औटेरोवा न्युजिल्याण्ड प्रयोग गर्ने इच्छा जाहेर गरेकी छिन् । देशलाई सुहाउने नाम प्रयोग हुने प्रधानमन्त्रीको धारणा थियो । ते पार्टी माओरीले सेप्टेम्बरको पहिलो हफ्तामा न्युजिल्याण्डको नाम औटेरोवा राख्नु पर्ने भनेर ६०,००० को हस्ताक्षर सहित अभियान चलाएको थियो । यो बिषयले अब संसदमा दर्ता भएसँगै प्रवेश पाउने छ । संसदमा यसबारेमा छलफल र बहस हुने र त्यस्पछि यसबारेमा निर्णय हुने बताईएको छ ।


