न्युजिल्याण्डमा सेप्टेम्बरको हरेक तेस्रो हफ्ता माओरी भाषा सप्ताह मनाउने गरिन्छ । माओरी भाषालाई जिवितै राख्न सरकारद्वारा सन् १९७५ देखि सेप्टेम्बर महिनाको तेस्रो हफ्तालाई माओरी भाषा सप्ताहको रुपमा मनाउन थालेको हो । सरकारको लक्ष्य अनुरुप सन् २०४० सम्म न्युजिल्याण्डमा बसोबास गर्ने १० लाख मानिसलाई माओरी भाषा बोल्न सक्ने बनाउनु रहेको छ । हाल हरेक २५ जनामा एक जनाले माओरी भाषा बोल्ने गरेको सरकारको तत्यांकले देखाउछ । न्युजिल्याण्डसहित अन्य केही टापु राष्ट्रहरुमा माओरी भाषाको प्रयोग हुने गरेको छ । हाल विश्वभर एक लाख ९० हजार मानिस माओरी भाषा प्रयोग गर्ने गर्दछन् । सरकारले यो संख्यालाई १० गुणा बढाउने योजना बनाएको छ । शैक्षिक संस्थामा माओरी भाषाको बिषय पढाई हुने भएकाले पनि हाल वयस्क भन्दा साना बालबालिकाले माओरी भाषा बोल्न सक्ने भएको सरकारले बताएको छ ।