ममताको हत्या गरेको प्रमाण भेटियो, नरेशलाई जमानत दिन अस्विकार – New Zealand News Nepal (NZ News Nepal)

ममताको हत्या गरेको प्रमाण भेटियो, नरेशलाई जमानत दिन अस्विकार

   September 22, 2024  

 

अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता भट्टको उनको श्रीमान नरेश भट्टले हत्या गरेको लगभग छर्लंग भएको छ । हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् । नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि अस्ति ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर उनका वकिलहरुले गरे । कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने उनीहरुको तर्क थियो । तर, सरकारी वकिलहरुले भने नरेशले हत्या गरेको बलिया प्रमाणहरु पेश गरेका छन् । प्रमाणहरु हेरिसकेपपिछ न्यायाधीशले ४५ मिनेटभित्र धरौटी अपिल सिधै खारेज गरिदिइन् । नरेशले ममताको हत्या गरेकोमा न्यायाधीश पनि विश्वस्त देखिइन् । यद्यपि, नरेशविरुद्ध हत्याको मुद्दा भने दायर भइसकेको छैन ।

अहिले चलिरहेको मुद्दा लाश लुकाएको अभियोगमा हो । न्यायाधीशले नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन् । मोसन हियरिङमा इजालसभित्र ममताका समर्थकहरु खचाखच थिए । सरकारी वकिलहरुले दिएका प्रमाण र भिडियो फुटेजहरु अदालतमा देखाइँदा इजलासभित्र स्तब्धता छाएको थियो । इजलासमा उपस्थित ममता भट्टका दाइ धुरुधुरु रोए । अरुको पनि आँखा ओभनो रहन सकेन । नरेशका वकिलहरुले दाबी गरेजस्तो ममता कतै जीवित नै पो छिन् कि भन्ने झिनो आशा पनि समाप्त भएको नेपाली समुदायका अगूवाहरुले बताएका छन् ।

ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।

बताइएअनुसार नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेका छन् । एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो । ट्रयास ब्यागहरु फ्याकेपश्चात उनले ती कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर समेत सोधेका थिए ।

यी कामहरु नरेशले जुलाई २९ र ३० मा गरेका हुन् । आफ्नी छोरीलाई एकजना बेबीसिटर कहाँ छोडेर नरेश दिनभर व्यस्त बनेका थिए । उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि पाइएको छ । नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर सर्च गरेको पनि भेटिएको छ ।

नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् । प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै लाशको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि यही नै सबैभन्दा ठूलो सुराक बन्यो ।

यसअघि खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो । ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् । घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेका थिए ।

‘श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ?’ भनेर गुगल सर्च गरेबाट नरेशले केही महिनाबाटै योजना बनाएको अनुमान गरिएको छ । ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।