न्युजिल्याण्डको संसदमा गत बिहीवार एक घटना घट्यो । यो घटनाले हाल विश्व भर चर्चा पाईरहेको छ । न्युजिल्याण्डको संसदमा बिहीवार माओरी समुदायको अधिकार खुम्च्याउने गरी १८४ वर्ष पुरानो सन्धि पुन: व्याख्यासहितको विधेयक प्रस्तुत गर्ने कार्यतालिका थियो । सोही अनुरुप संसदको बैठक अगाडि बढीरहेको थियो । सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने क्रममा माओरी पार्टीकी सांसदले बैठकलाई असर पर्ने गरि हाका प्रस्तुत गरेकी थिईन ।
सभामुख ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठकमा माओरी पार्टीकी २२ वर्षीय सांसद हाना रावहिती माइपी क्लार्कले प्रस्तावित विधेयक च्यातेर हाका नृत्य प्रस्तुत गर्न सुरू गरेकी थिईन् । हानाले हाका नाच सुरू गर्नेबित्तिकै माओरी पार्टीका अन्य सांसदले पनि नृत्य सुरू गर्छन् र ग्यालरीबाट पनि हाका नृत्य सुरू हुन्छ । हाका सम्पन्न भएपछि सभामुखले बैठक केही समयलाई स्थगित गर्छन् ।
अहिले संसद्को त्यही दृश्व सामाजिक सञ्जालबाट विश्वभर भाइरल बनिरहेको हो । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो । तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुन: व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजील्याण्डमा त्यसको विरोध हुँदै आएको छ । यहाँ कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्मा यसअघि पनि विरोध हुँदै आएको थियो । अहिले न्यूजील्याण्डमा बिगत १० दिनदेखि उक्त विधेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।
राजनीतिक विश्लेषकहरूले भने हाल संसद्मा पुगेको विधेयक पारित भए न्यूजील्याण्डमा जातीय विभाजन सिर्जना हुने चेतावनी दिँदै आएका छन् । यद्यपि विधेयको पहिलो खण्ड भने बिहीबार नै सदनबाट पारित भइसकेको छ ।


