माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु

   December 8, 2024  

न्युजिल्याण्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही रहेका छन् ।

दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए।
प्रहरी निरीक्षक विकी वाकरले भने, “शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ। उनीहरू बाँचेको हुनसक्ने कुनै आधार छैन।”

खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ।

खोजी टोलीले यसअघि उनीहरूको भनिएको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियार हाते बन्चरो लगायतका सामग्री भेटिएको जनाएको छ।

शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्नहरू पछ्याइएको र उनीहरू तीनै जनाले जुरब्रिगेन पहाडको चुचुरो काटेको सङ्केतहरू पाइएका छन्।

वाकरले भने, “पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन, हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि, ती व्यक्तिहरू बाँचेका हुनसक्ने कुनै आधार भेटिएन।”

वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै र नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजी कार्य सुरु गर्ने बताए।