न्युजिल्याण्डमा क्रिसमस र नयाँ वर्षको छुट्टीमा सडक दुर्घटनामा परि १३ जनाको मृत्‍यु – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा क्रिसमस र नयाँ वर्षको छुट्टीमा सडक दुर्घटनामा परि १३ जनाको मृत्‍यु

   January 4, 2025  

न्युजिल्याण्डमा क्रिसमस र नयाँ वर्षको छुट्टीमा सडक दुर्घटनामा परि १३ जनाले ज्यान गुमाएका छन् । होलिडे पिरियडमा देशको बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ । २४ डिसेम्बर अपरान्ह ४ बजे देखि ०३ जनवरी बिहान ६ बजे सम्मको समयमा भएका सडक दुर्घटनामा एक जना बच्चासहित १३ जनाको मृत्‍यु भएको हो ।

क्रिसमस ईभको दिन अर्थात २४ डिसेम्बरमा नर्थ अकल्याण्ड र तउरंगामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्‍यु भएको हो ।

त्यस्तै बक्सिङ डे अर्थात २६ डिसेम्बरको दिन हिक्स बेमा भएको दुर्घटनामा ३९ वर्षिय एक महिलाको मृत्‍यु भएको थियो ।

त्यस्तै नर्थको कोरोमन्डलमा दुई सवारी एकआपसमा ठोक्किदा २७ डिसेम्बरको दिन एक जनाको ज्यान गएको थियो ।

२८ डिसेम्बरमा पनि मुरुपारा र फार नर्थमा भएको दुई सडक दुर्घटनामा दुई जनाको मृत्‍यु भएको थियो । मुरुपारामा मोटरसाईकल चालकको दुर्घटनामा मृत्‍यु भएको हो । त्यस्तै अर्को दुर्घटना वाईपामा बहेको थियो ।

२९ डिसेम्बरमा अकल्याण्डको स्टेट हाईवे १ मा एक बच्चा सहित एक जनाको दुर्घटनामा मृत्‍यु भएको हो ।

न्यु एयर ईभ अर्थात ३१ डिसेम्बरमा पाल्मेसन नर्थ नजिकै एक दुर्घटना हुँदा थप एक जनाको ज्यान गएको थियो । नयाँ वर्षको दिन पनि साउथको क्यान्टर्बरीमा एक जनाले सडक दुर्घटनामै ज्यान गुमाउनु परेको थियो ।

त्यस्तै बिहीवार अर्थात जनवरी २ मा भने ३ छुट्टाछुट्टै दुर्घटनामा ३ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । वाईकातो, ह्याभलक र साउथ अकल्याण्डमा भएको दुर्घटनामा ३ जनाको मृत्‍यु भएको हो ।

कुल १३ जनाको मृत्‍यु भएपनि अघिल्लो वर्ष भन्दा भने यो कम हो । सन् २०२३२४ को होलिडे पिरियडमा २२ जनाले सडक दुर्घटनामा आफ्नो ज्यान गुमाएका थिए ।