नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले हालसम्म प्राप्त विवरणअनुसार भूकम्पका कारण ठूलो क्षति भएकाे छैन। ‘सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,’ उनले भने।
यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए। ‘केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,’ उनले भने, ‘यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ।’
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिए। भूकम्पका कारण कोसी प्रदेशमा ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।
भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको प्रहरीले जानकारी दिएको छ।
कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ।
ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो।