च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो न्युजिल्याण्ड, उपाधीका लागि आईतबार भारतसँग भिड्ने – New Zealand News Nepal (NZ News Nepal)

च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो न्युजिल्याण्ड, उपाधीका लागि आईतबार भारतसँग भिड्ने

   March 6, 2025  

दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध शानदार जित निकाल्दै न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । आइतबार हुने फाइनल खेलमा न्युजिल्याण्डले पहिलो सेमिफाइनलको विजेता भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले पाखा लगाएको थियो । न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १२ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि रासी भान डेर डुसेनले ६९ रन जोडे । उनले ६६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान टेम्बा बाभुमाले ७१ बलमा ५६ रन बनाए । उनले ४ चौका र १ छक्का हिर्काए । खेलको अन्त्यतिर डेभिड मिलरले ६७ बलमा १०० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले १० चौका र ४ छक्का प्रहार गरे । ऐडन मार्क्रमले ३९ बलमा ३१ रन बनाए भने रायल रिकेल्टनले १७ रन तथा कागिसो रबाडाले १६ रन बनाए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर ३ विकेट लिए । ग्लेन फिलिप्स र म्याट हेनरीले २–२ विकेट हात पारे भने माइकल ब्रेसवेल र रचिन रविन्द्रको नाममा १–१ विकेट रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा कीर्तिमानी ३ सय ६२ रन बनाएको थियो । कुनै पनि टोलीले च्याम्पियन्स ट्रफीमा बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि यही प्रतियोगितामा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध लाहोरमा ५ विकेटको क्षतिमा ३५६ रन बनाएको थियो । टोलीका लागि रचिन रवीन्द्र र केन विलियमसनले शतकीय इनिङ्स खेले । रचिनले १०१ बलमा १०८ रन जोडे । उनले यसक्रममा १३ चौका र १ छक्का प्रहार गरे । रचिनको एकदिवसीयमा यो पाँचौ शतक थियो । रोचक कुरा, उनले सबै शतक आईसीसी प्रतियोगितामा बनाएका हुन् ।

कुनै पनि अन्य ब्याटरले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । यसअघि, बंगलादेशका महमुदुल्लाहले आईसीसी प्रतियोगितामा आफ्ना सबै ४ शतक बनाएका थिए ।