न्यूजील्याण्डको अकल्याण्डस्थित एउटा गोदाममा सर्प फेला परेको समाचार सार्वजनिक भएपछि त्रास फैलिएको छ। जैविक सुरक्षालाई उच्च प्राथमिकता दिने देशमा सर्पको प्रवेश असाधारण मानिएको छ। अकल्याण्डको दक्षिणी औद्योगिक क्षेत्रमा रहेको एउटा आयात कम्पनीको गोदाममा कामदारहरूले ढुवानी सामग्री अनलोड गर्ने क्रममा १ मिटर लामो हरियो रंगको सर्प देखेका थिए। तत्कालै बायो–सुरक्षा विभागलाई खबर गरिएपछि टोली पुगेको थियो र सर्पलाई नियन्त्रणमा लिइएको थियो।बायो–सुरक्षा विभागका प्रवक्ता लुइस ब्राउनले बताए, “यो दुर्लभ तर गम्भीर घटना हो। सर्प सम्भवतः विदेशबाट आयात भएका सामानसँगै आएको हुनसक्छ। हामीले अनुसन्धान सुरु गरेका छौं र आवश्यक परे थप सख्त कदम चालिनेछ।”
सर्पविहीन देशको रुपमा चिनिएको न्यूजील्याण्डमा हालै दुई फरक स्थानमा सर्प फेला परेपछि स्थानीय बासिन्दामाझ त्रास फैलिएको छ। अकल्याण्डको ओमाहा समुद्रतटमा विषालु समुद्री सर्प देखिएको छ भने केही महिना अघि अकल्याण्डकै एउटा उद्योग क्षेत्रमा ठूलो अजिङ्गर फेला परेको थियो।
अकल्याण्डको उत्तरतर्फ रहेको ओमाहा समुद्रतटमा एक जना सर्वसाधारणले हरियो पेट भएको समुद्री सर्प देखेपछि डिपार्टमेन्ट अफ कन्सर्भेसन (DOC) लाई जानकारी दिएका थिए। DOC का वरिष्ठ रेंजर कार्ल फिशरका अनुसार, जब रेंजरहरू घटनास्थलमा पुगे, सर्प मृत अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा सर्पलाई कुकुरले टोकेको वा कसैले प्रहार गरेको आशंका गरिएको छ ।
DOC ले जनतालाई ओमाहा समुद्रतटको दक्षिणी भागमा जान नदिन आग्रह गरेको छ, विशेष गरी कुकुरहरूलाई त्यहाँ नलग्न अनुरोध गरिएको छ। समुद्री सर्पहरू सामान्यतया समुद्रमा बस्ने भएकाले तटमा देखिनु दुर्लभ घटना हो ।
चार महिना अघि, अकल्याण्डको एउटा उद्योग क्षेत्रमा दुई मिटर लामो अजिङ्गर फेला परेको थियो। बायो–सुरक्षा न्यूजील्याण्डका अनुसार, यो अजिङ्गर सम्भवतः आयातित सामानसँगै अनायासै प्रवेश गरेको थियो। प्रशिक्षित सर्प समात्ने टोलीले सर्पलाई नियन्त्रणमा लिएर मानवीय तरिकाले नष्ट गरेको थियो । बायो–सुरक्षा न्यूजील्याण्डका प्रबन्धक वेन्डी म्याकडोनाल्डले भने, “प्रत्येक वर्ष हामी सीमापार स्थानहरूमा एक वा दुई सर्प फेला पार्ने गर्छौं। अधिकांश सर्पहरू सीमामा नै रोकिन्छन् र प्रायः मृत अवस्थामा पाइन्छन्। तर, यस्तो घटनाले हामीलाई अझ सतर्क बनाएको छ।”
न्यूजील्याण्ड एक यस्तो देश हो जहाँ प्राकृतिक रूपमा सर्प पाइँदैन। सरकारले कडा जैविक नीतिहरू लागू गरेर यस्तो जीवजन्तुको आगमन रोक्दै आएको छ। यदि यस्ता जीव नियन्त्रणमा नलिएमा देशको जैविक प्रणालीमा ठूलो क्षति पुग्न सक्छ। स्थानिय बासिन्दा र गोदाम क्षेत्रका कामदारहरू सर्प देखिएपछि आत्तिएका थिए। एक कामदारले भने, “हामीलाई थाहा नै थिएन कि यस्तो केही पनि हुनसक्छ। यो देशमा सर्प देखिन्छ भन्ने सुन्दा विश्वास लाग्दैन।” सरकारले सबै नागरिकलाई सतर्क रहन र कुनै पनि अनौठो जनावर देखेमा तुरुन्तै नजिकको जैविक सुरक्षा निकाय वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।


