भारी वर्षा: क्राइसचर्चमा आपतकाल घोषणा – New Zealand News Nepal (NZ News Nepal)

भारी वर्षा: क्राइसचर्चमा आपतकाल घोषणा

   May 1, 2025  

आज दिउँसो ४ बजे क्राइस्टचर्च सिटी र बैंक्स प्रायद्वीपमा स्थानीय आपतकालीन अवस्था घोषणा गरिएको छ। यो निर्णय लगातारको भारी वर्षा, बाढी, पहिरो, र रुख ढल्ने घटनाहरूका कारण जनजीवनमा परेको प्रभावलाई ध्यानमा राख्दै मेयर फिल माउगरद्वारा गरिएको हो।

विशेषगरी बैंक्स प्रायद्वीप क्षेत्रमा पहिरो र सडक अबरुद्ध हुने समस्याहरू देखा परेका छन्। वर्षाले साना खोला र ढल निकासमा पनि असर पारेको छ, जसले गर्दा केही स्थानहरूमा आकस्मिक बाढी आएको छ। कैयौं सडकहरू अवरुद्ध छन्, र केही घरमा पानी पसिसकेको छ।

मेयर माउगरले भने, “हामी जनताको सुरक्षालाई सबैभन्दा पहिला राख्छौं। आपतकालीन अवस्था घोषणा गर्नुको उद्देश्य भनेको उद्धार कार्यलाई सहज बनाउनु र आवश्यक सेवाहरू तुरुन्त उपलब्ध गराउनु हो।”

यो घोषणासँगै नागरिक सुरक्षा अधिकारीहरूलाई विशेष अधिकार प्राप्त भएको छ जसअन्तर्गत उनीहरूले जोखिमयुक्त क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्न, बाटो बन्द गर्न वा खोल्न, तथा आपतकालीन सेवाहरू सजिलो बनाउने निर्णय लिन सक्छन्।

स्थानीय प्रशासनले जनतालाई निम्न निर्देशनहरू दिएको छ:

  • जबसम्म परिस्थिति सामान्य हुँदैन, अनावश्यक यात्रा नगर्नुहोस्।
  • जोखिमपूर्ण क्षेत्रमा प्रवेश नगर्नुहोस्, विशेषगरी पहिरो आएको ठाउँमा।
  • यदि तपाईंको घर सुरक्षित छैन भने, नजिकको अस्थायी आश्रयस्थलमा जानुहोस्।
  • रेडियो वा आधिकारिक वेबसाइटहरूमार्फत नवीनतम जानकारी लिँदै गर्नुहोस्।

अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन, तर स्थिति बिग्रिन सक्ने सम्भावना रहेकोले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ। आपतकालीन सेवाहरू, प्रहरी र दमकल टोली उच्च सतर्कतामा छन् र आवश्यक परेमा उद्धार कार्यमा खटिने तयारीमा छन्।

वातावरण विभागले अझै केही घण्टा भारी वर्षा जारी रहने सम्भावना जनाएको छ। यस्तो अवस्थामा स्थानीय निकायले थप आपतकालीन सहयोगको व्यवस्था गर्न सक्नेछ।

स्थानीय बासिन्दाहरूलाई संयमित, सतर्क र सुरक्षित रहन अनुरोध गरिएको छ।