न्यूजील्याण्डका उपप्रधानमन्त्री नेपालसहित भारत र श्रीलंका पनि जाने – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डका उपप्रधानमन्त्री नेपालसहित भारत र श्रीलंका पनि जाने

   May 20, 2025  

न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पीटर्स शुक्रबारदेखि अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमणमा निस्कने भएका छन्। अष्ट्रेलिया र दक्षिण एसियाको भ्रमणको क्रममा पीटर्सले सुरुमा अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोंगसँग छ-महिने अन्तरालमा हुने अष्ट्रेलिया–न्यूजील्याण्ड विदेशमन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुनेछन्।

त्यसपछि  पीटर्स दक्षिण एसियातर्फ प्रस्थान गर्नेछन्, जहाँ उनी श्रीलंका, नेपाल र भारतका कार्यक्रमहरूमा सहभागी हुनेछन्।

कोलम्बोमा, पीटर्सले २०१३ पछि श्रीलंकामा भ्रमण गर्ने पहिलो न्यूजील्याण्ड विदेशमन्त्रीको रूपमा राष्ट्रपति अनुरा कुमार दिसानायक, प्रधानमन्त्री हरिणी अमरसूरिया र विदेशमन्त्री विजिथा हेराथसँग भेटघाट गर्नेछन्।

त्यसपछि उनी सिधै नेपाल आउनेछन्। काठमाडौंमा,  उपप्रधानमन्त्री तथा विदेशमन्त्री पीटर्सले  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा विदेशमन्त्री आर्जु राणा देउबासँग भेटघाट गर्नेछन्।

नेपालको दुईदिने औपचारिक भ्रमण सकेर विदेशमन्त्री पीटर्स भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। दिल्लीमा  विदेशमन्त्री पीटर्सले भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँग भेट गर्नेछन् ।

विदेशमन्त्री पीटर्ससहितको भ्रमण टोली ३१ मेमा न्यूजील्याण्ड फर्किने कार्यक्रम रहेको छ।