एयर न्यूजील्याण्डले निखिल रविशंकरलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा नियुक्त गरेको छ। उनले २०२५ अक्टोबर २० बाट औपचारिक रूपमा पदभार सम्हाल्ने छन्।
रविशंकरले ग्रेग फोरनको स्थान लिनेछन्, जो करिब छ वर्षको कार्यकाल पछि CEO को पदबाट राजीनामा दिने तयारीमा छन्।
हाल निखिल रविशंकर एयर न्यूजील्याण्डका मुख्य डिजिटल अधिकृत (Chief Digital Officer) का रूपमा कार्यरत छन् र उनी पछिल्लो पाँच वर्षदेखि कम्पनीसँग आबद्ध छन्। यस अवधिमा उनले एयरलाइन्सको प्रविधि प्रणाली, ग्राहक अनुभव र ‘लयल्टी प्रोग्राम’ सुधार गर्ने कामको नेतृत्व गरेका थिए।
एयर न्यूजील्याण्डमा प्रवेश गर्नु अघि रविशंकरले Vector र Accenture जस्ता प्रतिष्ठित संस्थाहरूमा वरिष्ठ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
नियुक्तिपछि उनले भने,
“एयर न्यूजील्याण्डको नेतृत्व गर्ने अवसर पाउँदा म एकै साथ उत्साहित र विनम्र भएको महसुस गरिरहेको छु।
यो एयरलाइन एउटा गहिरो विरासत बोकेको संस्था हो, जसको भविष्य झनै उज्यालो देखिन्छ।
CEO को रूपमा जिम्मेवारी सम्हाल्नु मेरो लागि गौरवको कुरा हो – न केवल हाम्रो कर्मचारी र ग्राहकका लागि, तर देशका लागि पनि।”
एयर न्यूजील्याण्डले निखिलको नियुक्तिलाई कम्पनीको डिजिटल र ग्राहक-केंद्रित भविष्य निर्माणको दिशामा एउटा महत्वपूर्ण कदमको रूपमा लिएको बताएको छ।


