न्यूजील्याण्डमा अब घरधनीले आफ्नो घरनजिकै साना संरचना बनाउन अनुमति लिन नपर्ने – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा अब घरधनीले आफ्नो घरनजिकै साना संरचना बनाउन अनुमति लिन नपर्ने

   August 6, 2025  

न्यूजील्याण्ड सरकारले आज घोषणा गरेको नयाँ नियामकीय परिवर्तनअनुसार अब घरधनीहरूले आफ्नो सम्पत्तिको सिमानासँग नजिक साना संरचना—जस्तै बगैँचाको टहरो (garden shed), स्लीपआउट र ग्यारेज निर्माण गर्न सक्नेछन्, त्यो पनि भवन निर्माण अनुमति नलिई।

क्याबिनेटले १० वर्गमिटरभन्दा कम क्षेत्रफल भएका एकतले संरचनाहरूलाई सम्पत्ति सिमाना वा अन्य आवासीय भवनबाट दूरी कायम गर्नुपर्ने न्यूनतम दूरीको प्रावधान हटाउने निर्णय गरेको छ। त्यस्तै, १० देखि ३० वर्गमिटरबीचका संरचनाहरूका लागि यो दूरी घटाएर एक मिटरमा झारिएको छ।

यसअघि यस्ता संरचनाहरू कम्तिमा पनि आफ्नो उचाइबराबर दूरीमा निर्माण गर्नुपर्थ्यो, नत्र भवन अनुमति अनिवार्य थियो।

यो परिवर्तन “Building Act” को अनुसूची १ (Schedule 1) संशोधन गरी लागू गरिनेछ र यो व्यवस्था यसै वर्षको अन्त्यतिरदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

यद्यपि, सबै निर्माण कार्यहरूले अझै पनि न्यूजील्याण्डको Building Code तथा स्थानीय जिल्ला योजनाको पालना अनिवार्य रूपमा गर्नुपर्नेछ।