न्युजील्याण्ड सरकारले पेट्रोल कर हटाउने र सबै प्रकारका सवारीसाधनहरूलाई इलेक्ट्रोनिक रोड युजर चार्ज (RUC) प्रणालीमा स्थानान्तरण गर्ने तयारी थालेको छ। यो निर्णयलाई सरकारले पछिल्ला ५० वर्षमा सडक पूर्वाधारको लगानी प्रणालीमा भएको सबैभन्दा ठूलो परिवर्तन भनेको छ।
यातायात मन्त्री क्रिस बिशपले जानकारी दिँदै क्याबिनेटले आवश्यक कानुनी सुधारका लागि सहमति जनाइसकेको बताए। अब देशभरका ३.५ मिलियन ‘लाइट’ सवारीसाधनहरूले ईन्धनको प्रकार जे भए पनि – पेट्रोल, डिजेल, इलेक्ट्रिक वा हाइब्रिड – यात्रा गरेको दूरी र गाडीको तौलको आधारमा शुल्क तिर्नुपर्ने व्यवस्था लागू हुँदैछ।
मन्त्री बिशपले भने, “पेट्रोल करको अन्त्य र सबै सवारीसाधनलाई दूरी र तौलको आधारमा शुल्क तिर्ने प्रणालीमा ल्याउनु पछिल्लो ५० वर्षको सबैभन्दा ठूलो नीति परिवर्तन हो।”
उनका अनुसार, यो प्रणालीले आगामी वर्षहरूमा देशको सडक सञ्जाल मर्मत तथा विकासलाई सुनिश्चित गर्नेछ र अहिलेको भन्दा बढी न्यायसंगत व्यवस्था हुनेछ। नयाँ प्रणालीअनुसार कम इन्धन खपत गर्ने गाडी (जस्तै हाइब्रिड वा इलेक्ट्रिक) चढ्नेहरूले बढी इन्धन खर्च गर्ने गाडीवालाको सब्सिडी नलिने व्यवस्था हुनेछ।
सरकारले यो परिवर्तनलाई दीर्घकालीन सडक विकासका लागि आवश्यक र न्यायोचित भन्दै अघि बढाएको छ।


