न्युजिल्याण्डमा खाद्य मूल्य २०२३ पछिकै उच्च ! बटर, दूध र चिजको मूल्यमा ठुलो उछाल – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा खाद्य मूल्य २०२३ पछिकै उच्च ! बटर, दूध र चिजको मूल्यमा ठुलो उछाल

   August 15, 2025  

न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य २०२३ पछिकै सबैभन्दा छिटो गतिमा बढेका छन्, जसमा दुग्धजन्य र मासु उत्पादनको उच्च मूल्य मुख्य कारक भएको देखिन्छ।

स्ट्याट्स एनजेडका अनुसार १२ महिनामा खाद्य मूल्य ५ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ४.६ प्रतिशत वार्षिक वृद्धिभन्दा बढी हो। यो वृद्धि नोभेम्बर २०२३ यताकै सबैभन्दा ठूलो हो।

यद्यपि मासिक वृद्धि दर भने केही सुस्त भएको छ। जुलाईमा अघिल्लो महिनाको तुलनामा खाद्य मूल्य ०.७ प्रतिशतले मात्र बढ्दा जुनमा यो दर १.२ प्रतिशत थियो।

सबैभन्दा ठूलो वार्षिक वृद्धि किराना सामग्रीमा देखिएको छ, जसमा दुग्धजन्य वस्तुहरू प्रमुख छन्। बटर, चिज र दूधको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

  • बटरको मूल्य गत वर्षको तुलनामा ४२.२ प्रतिशतले बढेर ५०० ग्रामको ब्लकको औसत मूल्य ८.५९ डलर पुगेको छ।

  • २ लिटरको दूधको मूल्य १६ प्रतिशतले बढेर औसत ४.७० डलर पुगेको छ।

  • १ किलो चिजको मूल्य करिब ३० प्रतिशतले बढेर १३.०१ डलर पुगेको छ।

मासु र माछाको मूल्य पनि गत वर्षको तुलनामा ७.९ प्रतिशतले बढेको छ। यो वृद्धि विशेष गरी बिफ स्टेक र मिन्समा उच्च देखिएको छ, जसमा क्रमशः २४.६ प्रतिशत र १९.३ प्रतिशत वृद्धि भएको हो।