न्युजिल्याण्डको राष्ट्रिय सुरक्षामा बढ्दो जोखिम : गम्भीरताका साथ लिनुपर्ने चेतावनी – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको राष्ट्रिय सुरक्षामा बढ्दो जोखिम : गम्भीरताका साथ लिनुपर्ने चेतावनी

   August 21, 2025  

वेलिङ्टन – न्युजिल्याण्ड सुरक्षा गुप्तचर सेवा (NZSIS) ले राष्ट्रिय सुरक्षामाथि बढ्दो खतरालाई हालसम्मभन्दा धेरै गम्भीरताका साथ लिनुपर्ने चेतावनी दिएको छ।

एसआईएसले आफ्नो तेस्रो वार्षिक सुरक्षा खतरा वातावरण प्रतिवेदन सार्वजनिक गर्दै हिंसात्मक उग्रवाद, विदेशी हस्तक्षेप र गुप्तचरी (espionage) जस्ता जोखिमहरू न्युजिल्याण्डका लागि सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा विगतका दुई संस्करणमा उठाइएका समान खतराहरूलाई दोहोर्‍याइए पनि यस पटक अवस्था अझ बिग्रिएको उल्लेख गरिएको छ। यो बिग्रिएको अवस्थाको प्रमुख कारण अस्थिर अन्तर्राष्ट्रिय सम्बन्ध, बढ्दो ध्रुवीकरण (polarisation) र असन्तुष्टि भएको एसआईएसले जनाएको छ।

सुरक्षा महानिर्देशक एन्ड्र्यू ह्याम्पटनले प्रतिवेदनबारे प्रतिक्रिया दिँदै भने,

“बढ्दो ध्रुवीकरण र असन्तुष्टिले हिंसात्मक उग्रवादी विचारधाराप्रति समर्थन बढाइरहेको छ। विदेशी राष्ट्रहरू अझ बढी हदसम्म न्युजिल्याण्डका संस्था र समुदायलाई लक्ष्य बनाउँदै आफ्नो स्वार्थ हासिल गर्न खोजिरहेका छन्।”

उनका अनुसार, हाल न्युजिल्याण्डमा केही युवा र कमजोर समूहहरू अनलाइनमार्फत उग्रवादी सोचतर्फ आकर्षित भइरहेका छन्। साथै, केही विदेशी शक्तिहरूले देशको लोकतान्त्रिक अधिकारमा हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन् भने, मूल्यवान बौद्धिक सम्पत्तिमा केन्द्रित गुप्तचरी गतिविधि पनि भइरहेको छ, जसको केही हिस्सा अझै पत्ता नलागेको हुनसक्ने आकलन गरिएको छ।