अकल्याण्डमा आयोजना हुने ‘एभरेष्ट कप’मा १४ टिम सहभागी हुने – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा आयोजना हुने ‘एभरेष्ट कप’मा १४ टिम सहभागी हुने

   September 5, 2025  

यस वर्ष अकल्याण्डमा आयोजना हुने एभरेष्ट कप फुटबल प्रतियोगितामा न्युजील्याण्डभरिबाट १४ टिम सहभागी हुने भएका छन्।

आयोजकका अनुसार प्रतियोगिता अक्टोबर ४ र ५ तारिखमा हुने छ। यसमा देशभरका नेपाली समुदायका विभिन्न फुटबल क्लबहरूले सहभागिता जनाउनेछन्।

सहभागी टिमहरूमा गोरखा एफसी (रेड र ब्लु), खुकुरी एफसी, माउण्ट ८८४८ (ए र बी), हिमालय एफसी (ए र बी), हल्ला खल्ला, नोमाड्स युनाइटेड, गोर्खाली एफसी, शेर्पा एफसी, नेपाल युनाइटेड, नेपालिज वारियर्स र सिम्रिक एफसी रहेका छन्।

एभरेष्ट कप हरेक वर्ष आयोजना हुँदै आएको भए पनि अघिल्लो वर्ष स्थगित गरिएको थियो। आयोजक समितिले अबदेखि यो प्रतियोगिता हरेक दुई वर्षमा गर्ने निर्णय गरेको छ। त्यसैले अघिल्लो वर्ष हुन नसकेको प्रतियोगिता यस वर्ष आयोजना गर्न लागिएको हो।

सन् २०२० बाट सुरु भएको एभरेष्ट कप फूटबल प्रतियोगिताको पहिलो र दोस्रो संस्करण न्युजिल्याण्डको राजधानी वेलिङटनमा आयोजना गरिएको थियो भने गत वर्ष सम्पन्न तेस्रो संस्करण अकल्याण्डमा आयोजना गरिएको थियो । पहिलो संस्करणको बिजेता अकल्याण्ड नेपालिज फूटबल एसोसियन भएको थियो भने दोस्रो संस्करणको उपाधी क्राइसचर्चको  टिम लोत्साम्पाले जितेको थियो । त्यस्तै तेस्रो संस्करणको उपाधी क्राइसचर्चको नेपाल युनाईटेडले जितेको थियो । कोरोनाको महामारीका बिच सन् २०२१ मा भने यो प्रतियोगिता हुन पाएको थिएन ।