चन्द्रग्रहण: सोमबार बिहानै न्युजील्याण्डमा देखिँदै ‘Blood Moon’, कस्तो रहला मौसम? – New Zealand News Nepal (NZ News Nepal)

चन्द्रग्रहण: सोमबार बिहानै न्युजील्याण्डमा देखिँदै ‘Blood Moon’, कस्तो रहला मौसम?

   September 7, 2025  

सोमबार बिहान, ८ सेप्टेम्बर २०२५ मा न्युजील्याण्ड र अष्ट्रेलियाको आकाशमा वर्षकै ठूलो खगोलीय घटना पूर्ण चन्द्रग्रहण देख्न सकिने भएको छ। ग्रहणको समयमा चन्द्रमा रातो रंगमा परिणत हुने भएकाले यसलाई सामान्यत: ‘Blood Moon’ पनि भनिन्छ। यस दिन बिहान सबेरै उठ्नेहरूले पश्चिम क्षितिजतर्फ हेर्दा अनौठो खगोलीय दृश्य अवलोकन गर्न पाउनेछन्।

न्युजील्याण्ड समय अनुसार ग्रहण बिहान ३:२८ मा Penumbral Eclipse बाट सुरु हुनेछ। ४:२७ बजे Partial Eclipse सुरु भई ५:३० बजे पूर्ण चन्द्रग्रहणको चरण सुरु हुनेछ। यो समयमा चन्द्रमा क्षितिज नजिकै पश्चिमतर्फ हुने भएकाले अवलोकनका लागि निकै रोचक मानिन्छ। अधिकतम ग्रहण ६:११ बजे हुनेछ भने ६:४० बजे चन्द्र अस्तसँगै यो खगोलीय घटना समाप्त हुनेछ।

मौसम पूर्वानुमानअनुसार अकल्याण्डमा आकाश प्रायः खुला हुने भएकाले त्यहाँका नागरिकले ग्रहण सहजै अवलोकन गर्न सक्नेछन्। वेलिङ्टन र क्राइस्टचर्चमा आंशिक बादल रहने अपेक्षा गरिएको छ भने क्विन्सटाउनमा प्रायः बादल लाग्ने भएकाले त्यहाँ स्पष्ट रूपमा हेर्न कठिन पर्न सक्छ।

खगोलविद्हरूका अनुसार पूर्ण चन्द्रग्रहण प्रत्येक वर्ष नदेखिने भएकाले यो दुर्लभ अवसरलाई खेर नफाल्नुपर्ने सुझाव दिएका छन्। बिहान ५:३० देखि ६:११ बजेसम्म ग्रहणको सर्वाधिक आकर्षक चरण हुने भएकाले यस समयमा आकाश अवलोकन गर्न विशेष रूपमा सुझाव गरिएको छ। मौसमले साथ दिएमा न्युजील्याण्डका धेरै भागमा यो ग्रहण स्पष्ट रूपमा हेर्न सकिनेछ।