नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड सम्हाल्दै राति १० बजेदेखि औपचारिक रूपमा परिचालित हुने भएको छ।
सरकारद्वारा गरिएको कठोर दमनपछि जेन–जी आन्दोलन क्रमशः हिंसात्मक बन्दै गएपछि सेनाले आफू परिचालित हुन लागेको जनाएको हो। केहीबेर अघिमात्रै प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रलाई सम्बोधन गर्दै प्रदर्शनकारीलाई आन्दोलन रोक्दै वार्तामा आउन आग्रह गरेका थिए।
सेनाले अहिलेसम्म प्रदर्शनमा बल प्रयोग नगरेको तर अब परिचालनपछि आन्दोलनका नाममा तोडफोड, लुटपाट, आगजनी तथा अन्य विध्वंसात्मक गतिविधि गर्नेहरूमाथि कारबाही सुरु हुने चेतावनी दिएको छ। सेनाले आफू मात्र नभई अन्य सबै सुरक्षा निकायहरू समेत परिचालनमा रहने जनाएको छ।
‘हालको विषम परिस्थितिको अनुचित लाभ उठाई केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउँदै आएको पाइएकाले यस्ता गतिविधि नगर्न तथा नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा थप भनिएको छ, ‘यदि यस्ता गतिविधि नरोकिएमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न भाद्र २४ गते राति १० बजेदेखि दृढ रहने प्रतिबद्धता प्रकट गर्दछौं।’
सेनाले सबै नागरिकलाई सहयोग गर्न हार्दिक अपिल गर्दै सुरक्षा परिस्थितिको पुनर्मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जानकारी पनि दिएको छ।


