अष्ट्रेलियन विमान कम्पनी जेटस्टार ले नयाँ दुई घरेलु रुट थप्ने र हालका रुटहरूमा थप उडान सुरु गर्ने घोषणा गरेको छ। यससँगै कम्पनीले हरेक वर्ष ६ लाख ६० हजारभन्दा बढी अतिरिक्त सिट उपलब्ध गराउने बताएको छ।
आउँदो डिसेम्बरदेखि ह्यामिल्टन–क्राइस्टचर्च दैनिक उडान सुरु हुनेछ भने आगामी स्की सिजनका लागि ब्रिस्बेन–क्विन्सटाउन नयाँ उडान सञ्चालन हुने भएको छ। साथै, अकल्याण्ड–क्राइस्टचर्च र अकल्याण्ड–डुनेडिन जोड्ने उडानको संख्या पनि बढाइनेछ।
अकल्याण्ड–ब्रिस्बेन मार्गमा अब दैनिक दुईपटक उडान हुनेछन्। यस्तै, अकल्याण्ड–सिड्नीबीच थप चारवटा उडानमार्फत वार्षिक झण्डै ८० हजार अतिरिक्त सिट उपलब्ध हुने भएको छ। क्राइस्टचर्च–मेलबर्न मार्गमा पनि उडान दैनिक हुने गरी स्तरोन्नति गरिँदैछ, जसले वार्षिक थप २६ हजार सिट उपलब्ध गराउनेछ।
जेटस्टार ग्रुपकी प्रमुख कार्यकारी स्टेफनी टुलीले यी परिवर्तनहरूले न्यूज़ील्याण्डमा पर्यटक भित्र्याउने र सम्पूर्ण देश तथा ट्रान्स-टास्मान नेटवर्कमा सम्पर्क अझ मजबुत पार्ने बताइन्।
उनले भनिन्, “हामीलाई थाहा छ, हवाई यात्रा किवी परिवार, साथी, पर्यटक र व्यवसायिक यात्रुहरूलाई जोड्ने महत्वपूर्ण माध्यम हो। यी परिवर्तनहरूले पर्यटनमा ठूलो मद्दत पुर्याउनुका साथै किवीहरूलाई अझ सस्तो भाडा र बढी विकल्प दिनेछन्।”
कम्पनीका अनुसार यी परिवर्तनसँगै जेटस्टारको न्युजील्याण्ड घरेलु क्षमता १८ प्रतिशत र ट्रान्स-टास्मान क्षमता १४ प्रतिशतले बढ्नेछ। यसलाई व्यवस्थापन गर्न अकल्याण्डमा थप एकवटा A320 विमान परिचालन गरिनेछ।
यससँगै, क्वान्टसले क्राइस्टचर्च–सिड्नीबीच अतिरिक्त उडान थप्ने र वेलिङ्टन–सिड्नी मार्गमा नयाँ A220 विमान प्रयोग गर्ने तयारीसमेत गरेको छ। नयाँ A220 विमान इन्धन बचत गर्ने डिजाइन भएको र यसले करिब ५० प्रतिशतले कम आवाज निकाल्ने क्षमता राख्ने बताइएको छ। साथै यात्रुहरूको सुविधालाई ध्यानमा राखी नयाँ सिट, झ्याल र आधुनिक उपकरण जडान प्रणाली समावेश गरिएको छ।


