जेन–जी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपरान्ह राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरेका छन्।
शासकीय अव्यवस्थाको विरोधमा उत्रिएका युवाहरूले गरेको आगजनी रातिसम्म निभ्न सकेको छैन। सोमबारदेखि सुरु भएको जेन–जी युवाहरूको आन्दोलनलाई प्रहरीले गरेको कठोर दमनपछि मंगलबार स्थिति पूर्णतया नियन्त्रणबाहिर पुगेको हो। अन्य स्थानहरूजस्तै शीतल निवासमा लागेको आगो निभाउन दमकल समेत पुग्न सकेको छैन।
मंगलबार प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत, सरकारी वकिलको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससहित थुप्रै सरकारी र निजी भवनमा पनि आगजनी गरेका छन्। ती भवनहरूमा लागेको आगो समेत रातिसम्म निभ्न सकेको छैन।
ऐतिहासिक महत्व भएको शीतल निवास
राष्ट्रपति भवन, शीतल निवास, महाराजगञ्जमा अवस्थित छ। यस दरबार राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९८० मा आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीका कान्छा छोरा कृष्णशमशेरका लागि निर्माण गराएका थिए। करिब १४० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार वि.सं. १९९० माघ २ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि कृष्णशमशेरले यसको मर्मत संहार गरी आधुनिक ढाँचामा पुनर्निर्माण गराएका थिए। पछि उनले यो भवन तत्कालीन सरकारलाई हस्तान्तरण गरेका थिए।
राणा शासनको अन्त्यपछि यस दरबारलाई सरकारी अतिथिगृह र परराष्ट्र मन्त्रालयका लागि प्रयोग गरियो। गणतन्त्र स्थापनापछि वि.सं. २०६५ असार २० मा मन्त्रिपरिषद्को निर्णयअनुसार यसलाई राष्ट्रपति भवन बनाइएको हो। हालसम्म यही भवनमा राष्ट्रपतिको कार्यालय र निवास रहेको थियो।
शीतल निवासको मूल डिजाइन इन्जिनियर द्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले तयार गरेका थिए।


