न्यूजिल्याण्डको गभर्नर जनरल सिन्डी किरोको कार्यकाल आगामी आम निर्वाचनसँग मिती नजोडियोस् भनेर पाँच महिनाले बढाइने भएको छ। अब उनको कार्यकाल २१ अक्टोबर २०२६ मा समाप्त नहुने र ३१ मार्च २०२७ सम्म रहनेछ।
सिन्डी किरो २०२१ मा डेम प्याट्सी रेडीको स्थानमा गभर्नरजनरल नियुक्त भएकी थिइन्।
प्रधानमन्त्री क्रिस्टोफर लकसनले भने, “ २०२६ मा गभर्नर जनरलको पाँच वर्षे कार्यकाल र तीन वर्षे निर्वाचन एकैपटक पर्न जाँदैछ।”
गभर्नर जनरल निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने पद हो। उनीहरूले हरेक निर्वाचनको मिति तोक्ने र निर्वाचनको आदेश (writ) जारी गर्ने, संसद पुनः बैठक बोलाउने, बहुमत जुटाउन सक्ने सुनिश्चितता गर्ने र प्रधानमन्त्री नियुक्त गर्ने जस्ता संवैधानिक जिम्मेवारी निर्वाह गर्नुपर्छ।
गभर्नर जनरलले संसद उद्घाटन समारोहमा बोलाउने र ‘स्पिच फ्रम द थ्रोन’ प्रस्तुत गर्ने पनि गर्छन्।
प्रधानमन्त्री लकसनले सिन्डीलाई छोटो समयको विस्तार स्वीकार गर्न आग्रह गरेको र उनले सहमति जनाएकी जानकारी दिए। यसअघि पनि यस्तो कदम उठिएको थियो।