आगामी साता न्यूजील्याण्डमा आंशिक सूर्यग्रहण, ६० प्रतिशत सूर्य ढाकिने – New Zealand News Nepal (NZ News Nepal)

आगामी साता न्यूजील्याण्डमा आंशिक सूर्यग्रहण, ६० प्रतिशत सूर्य ढाकिने

   September 15, 2025  

आगामी साताको सोमबार (२२ सेप्टेम्बर) न्यूजील्याण्डका लागि फेरि एउटा अनौठो खगोलीय दृश्य हेर्ने अवसर आउँदैछ । यो दुर्लभ आंशिक सूर्यग्रहण हो, जुन विश्वका थोरै देशमै देखिनेछ।

यसअघि सेप्टेम्बर ८ को बिहानै न्यूजील्याण्डभर पूर्ण चन्द्रग्रहण अवलोकन गरेका थिए।

स्टार्डोमका अनुसार आगामी सोमबार बिहान ६ बजेबाट ८ बजेसम्म आंशिक सूर्यग्रहण देखिनेछ र बिहान ७ बजे ‘म्याक्सिमम एक्लिप्स’ हुनेछ। “सूर्य चन्द्रमाद्वारा कति भाग ढाकिन्छ भन्ने कुरा तपाईंको स्थानमा निर्भर हुन्छ,” स्टार्डोमले जनाएको छ, “अकल्यान्डमा करिब ६० प्रतिशत सूर्य ढाकिनेछ भने दक्षिणतिर जाँदा अझ बढी भाग ढाकिनेछ।”

स्टार्डोमका अनुसार बिहान ७ बजे पूर्वी क्षितिजतिर खुला र अवरोधरहित दृश्य भएको स्थानमा रहेकाहरूले उज्यालो क्रेशेन्ट जस्तो सूर्यलाई चन्द्रमाले अंशत: ढाकेको देख्न सक्नेछन्। ग्रहण बिहान ८ बजेपछि चन्द्रमा सूर्यको पृष्ठबाट हट्दै जाँदा सकिनेछ।

यसपटक भने विशेष सावधानी आवश्यक छ। स्टार्डोमले चेतावनी दिँदै भनेको छ, “यो चन्द्रग्रहणजस्तो होइन – आंशिक सूर्यग्रहण हेर्न उपयुक्त आँखा सुरक्षा (Eye Protection) अनिवार्य छ।”