आइतबारबाट ‘डेलाइट सेभिङ’ सुरु हुँदै, कसरी सुरु भयो घडी अगाडि सार्ने प्रणाली ? – New Zealand News Nepal (NZ News Nepal)

आइतबारबाट ‘डेलाइट सेभिङ’ सुरु हुँदै, कसरी सुरु भयो घडी अगाडि सार्ने प्रणाली ?

   September 24, 2025  

न्युजिल्याण्डमा आउँदो आइतबार (सेप्टेम्बर २८) बिहानबाट डेलाइट सेभिङ (घडी अगाडि सार्ने प्रणाली) सुरु हुँदैछ। यसका कारण घडी एक घण्टा अगाडि सारिने भएकाले एक घण्टा सुताइ कम हुनेछ तर दिनहरू अझ उज्यालो र न्यानो हुने अपेक्षा छ।

गर्मी महिनामा बढी उज्यालो समयको उपयोग गर्न न्युजिल्याण्डमा घडीको समय एक घण्टा अगाडि बढाइने गरिएको हो। आइतबार बिहान १ बजेपछि २ बज्नुको सट्टा घडी ३ बज्नेछ। यस्तो गर्दा अब न्युजिल्याण्डमा बेलुकीसम्म घामको किरण देख्न सकिनेछ।

सेप्टेम्बर महिनाको अन्तिम आइतबारबाट सुरु हुने डेलाइट सेभिङको अन्त्य अर्को वर्षको अप्रिलमा हुने छ। सन् २०२६ को अप्रिल ५ तारिख आइतबार बिहान ३ बजे समाप्त हुनेछ, जसका कारण समय फेरि एक घण्टा पछाडि सारिनेछ।

डेलाइट सेभिङको इतिहास

न्युजिल्याण्डले पहिलोपटक १९२७ मा डेलाइट सेभिङको अभ्यास सुरु गरेको हो। त्यसपछि घडी अगाडि–पछाडि सार्ने मिति र समय वर्षैपिच्छे फरक–फरक थियो।
१९४१ मा विश्वयुद्धको समयमा ऊर्जा बचत गर्न आपतकालीन नियमअन्तर्गत डेलाइट सेभिङ वर्षभरका लागि लागू गरिएको थियो।
पाँच वर्षपछि, यो स्थायी समयमा परिणत भयो र डेलाइट सेभिङ समाप्त भयो।
१९७५ मा पुनः डेलाइट सेभिङ लागू भयो र २००७ मा हालको समयसूची सेप्टेम्बरको अन्तिम आइतबारदेखि अप्रिलको पहिलो आइतबारसम्म कायम गरियो।

कहिले अन्त्य हुन्छ ?
डेलाइट सेभिङ हरेक वर्ष अप्रिलको पहिलो आइतबार बिहान ३ बजे अन्त्य हुन्छ। सन् २०२६ मा यो अप्रिल ५ आइतबार बिहान ३ बजे समाप्त हुनेछ।

अन्य देशहरूमा डेलाइट सेभिङ
डेलाइट सेभिङको अभ्यास विश्वभर धेरै ठाउँमा छैन। प्यु रिसर्चका अनुसार, करिब दुई तिहाइ देशहरूले वर्षभर घडी परिवर्तन गर्दैनन्।
अमेरिकामा हवाई र एरिजोनाको अधिकांश भागमा डेलाइट सेभिङ लागू हुँदैन। अष्ट्रेलिया, ब्राजिल र क्यानडामा पनि विभिन्न राज्य वा क्षेत्रहरूमा यसलाई नअपनाइने गरेको छ।
युरोपमा भने यो अभ्यास व्यापक छ, ४४ मध्ये ३७ देशहरूले डेलाइट सेभिङ अपनाएका छन्। उत्तर अमेरिका, ल्याटिन अमेरिका र अष्ट्रेलियाका केही भागमा पनि यो प्रचलन छ।
Egypt २०२३ मा पुनः डेलाइट सेभिङ लागू गरी अफ्रिकामा यसलाई अपनाउने एक मात्र देश बनेको छ।
भूमध्यरेखामा नजिक रहेका देशहरूले भने वर्षभर दिनको लम्बाइमा ठूलो परिवर्तन नहुने भएकाले घडी परिवर्तन गर्दैनन्।