न्युजिल्याण्डभर आज सहर, जिल्ला र क्षेत्रीय परिषद्मा प्रतिनिधि चयन गर्न स्थानीय निर्वाचन सम्पन्न भएको छ। मतदान दिउँसो १२ बजे औपचारिक रूपमा बन्द गरिएको हो, भने प्रारम्भिक नतिजा दिउँसो ३ बजेबाट सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यस वर्ष उम्मेदवारहरूको कमीका कारण केही क्षेत्रमा प्रतिस्पर्धा नै नभई प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन्। देशभर कुल मतदाता सहभागिता करिब ४५ प्रतिशत रहने अनुमान गरिएको छ।
अकल्याण्डको मेयर चुनावमा भने उत्साहजनक सहभागिता देखिएन। सेप्टेम्बर महिनाको अन्त्यसम्म अकल्याण्डमा मात्र १० प्रतिशत योग्य मतदाताले मतदान गरेका थिए।
आधिकारिक परिणामहरू अक्टोबर १६ देखि २२ सम्म चरणबद्ध रूपमा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
प्रारम्भिक नतिजा अनुसार अकल्याण्डमा वेन ब्राउन, रोटोरुआमा तानिया ट्याप्सेल, क्राइस्टचर्चमा फिल माउगर र गोरेमा बेन बेल पुनः निर्वाचित हुने सम्भावना देखिएको छ।
त्यसैगरी नेपियरमा मेयर किर्स्टेन वाइजले आफ्नो पद जोगाउन सकीनन्, र मतदाताले उनको सट्टा काउन्सिलर रिचर्ड म्याक्ग्राथलाई नयाँ मेयरका रूपमा चयन गरेका छन्।